संसदमा समय कम पाउने सांसद कै गुनासो

संसदमा सांसदहरुको काम जनताका कुरा बोल्नु, निति निर्माण गर्नु र कार्यान्वयनमा सहयोग गर्नु नै हो । तर, संसदमा अधिकांश सांसदहरुले सामाजिक मुद्धामा कम बोल्ने गरेका छन् । संसद्मा सांसदहरु आफ्नै निर्वाचन क्षेत्रको विषयमा बढी केन्द्रीत हुने गरेका छन् । यो कुरालाई सांसद स्वयम स्वीकार गर्छन् ।
 

सांसदहरुले संसदमा बोल्ने समय नै कम पाउने गरेको पनि बताएका छन् । त्यो कम समयमा पनि सामाजिक भन्दा धेरै राजनितिक मुद्धा, विकास निर्माणका विषयलाई बढी जोड दिनुपरेको बताएका हुन् ।

कार्यक्रममा सहभागी तारा लामा तामाङ, अमृत लाल राजवंशी, गंगाराम चौधरी, उर्मीला माझी, गोमा लाभ सापकोटा लगाएतले बोलेका थिए । उनीहरुले संसदमा बोल्दा अपांगता भएका व्यक्ति, सिमान्तकृत समुदाय, लैंगिक तथा यौनिक अल्पसख्यकको विषयलाई समेट्ने प्रतिवद्धता जनाएका छन् ।

विनोद पहाडीले संसदमा बोल्न कम समय पाएका कारण सांसदले सामाजिक मुद्धाका विषयलाई प्राथमिकतामा पार्न सकिन भन्न नमिल्ने बताए । उनले नागरिकका विषयमा बोल्न विषेश समय कुर्न नपर्ने भन्दै जुनसुकै समयमा पनि बोल्न सकिने र आवश्यक पर्ने बताए ।

यस्तै राष्ट्रिय सभा सदस्य तथा विकास, आर्थिक, मामिला तथा सुशासन समिती सभापति   कमला पन्तले आफुहरुले संसदमा र संसदीय समितीहरुमा सामाजिक मुद्धालाई प्राथमिकता दिएको दाबी गरिन । उनले कतिपय अवस्थामा सांसदहरुले सामाजिक तथा मानवअधिकारका भन्दा पनि राजनितिक मुद्धालाई बढी जोड दिएको जस्तो देखिए पनि सामाजिक मुद्धामा सांसद बोल्दैनन् भन्न नमिल्ने बताइन ।