रुसी सेनामा भर्ती भई युद्धमा परेर ज्यान गुमाउने नेपालीको संख्या ३५ पुग्याे

रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर थप १० नेपालीको मृत्यु भएको छ । मस्कोस्थित नेपाली दूतावासले जनाएअनुसार पछिल्लो पटक १० जनाको मृत्यू भएको हो ।

योसँगै रुस युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ३५ पुगेको छ । पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेमा रूपन्देहीका लालबहादुर बुढा, दोलखाका फुर्वा शेर्पा, स्याङ्जाका सुरज विक, धादिङका नेत्रबहादुर घर्ती, गुल्मीका शंकर दमाईंको मृत्यू भएको छ ।

यसैगरी लमजुङका साजन गुरुङ, दैलेखका तेजबहादुर शाही, सिन्धुलीका शान्तबहादुर भोलान, जिल्ला पत्ता नलागेका राजु थारू र घनश्याम परियार रहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार युद्धमा घाइते भएर उपचाररत नेपाली ६ जना रहेका छन । सरकारी तथ्यांकअनुसार रुस–युक्रेन युद्धपछि नेपाल फर्कनेको संख्या १ सय २८ पुगेको छ । सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ ।

रुसी सेनामा भर्ती भएका नेपालीका बारेमा सरकारले लगातार रुस सरकारसँग बुझ्न खोज्दासमेत स्पष्ट जानकारी प्राप्त भएको छैन । नेपाल सरकारले रुसी सरकारलाई पटक–पटक गरेको आग्रह र पत्राचारका बाबजुद पनि रुसी विदेश मन्त्रालयले उक्त विषय रक्षा मन्त्रालयको भएको उल्लेख गर्दै नेपाललाई जवाफ दिइसकेको छैन ।

रुसी सेनामा भर्ती भई अहिले ६ नेपाली युक्रेनी सेनाको कब्जामा छन । यसरी कब्जामा परेका नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने छन ।