काठमाण्डौ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रको जग्गाको मूल्य तोक्यो

काठमाडाै, १५ असार :  काठमाण्डौ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रको जग्गाको मूल्य तोकेको छ । आउँदो आर्थिक वर्षको बजेटमा एक सय ७८ वटा ठाउँका जग्गाको सरकारी मूल्याङ्कन कायम गरिएको छ ।

महानगरले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाको मूल्य आनाको न्यूनतम चार लाख रुपैयाँदेखि ५० लाखसम्म तोकेको छ । जसअनुसार सिंहदरबार, माइतीघर, दरबारमार्ग लगायतका क्षेत्रमा जग्गाको सरकारी मूल्य आनाको ५० लाख तोकिएको छ भने सडकले नछोएको चक्रपथभन्दा बाहिरका जग्गाको मूल्य प्रतिआना न्युनतम चार लाखसम्म तोकिएको छ ।

मनोहरापूल, अरनिको राजमार्ग, चक्रपथ तीनकुने, गैह्रीगाउँ, सिनामंगल, तिलगङ्गा, गौशाला, मित्रपार्क हुँदै चावहिल मालपोत कार्यालयको सिमानासम्मको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रतिआना २८ लाख रुपैयाँ तोकिएको छ ।

त्यस्तै पूतलीसडक, बागबजार हुँदै रत्नपार्कसम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गा, पूतलीसडक कूमारी बैंक चोकदेखि पूरानो बसपार्कसम्मको मुलबाटो, पद्मोदय मोडदेखि सभागृह चोकसम्मको मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रतिआना ४० लाख रुपैयाँ तोकिएको छ । तर महानगरपालिकाले निर्धारण गरेको मूल्यभन्दा निकै बढीमा जग्गाको कारोबार भइरहेको छ ।