युरोकप २०२४ : आजदेखि नकआउट चरणका खेलहरू हुँदै

जारी युरोकपमा आजदेखि नकआउट चरणका खेलहरू हुँदै छन् । नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीजरल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुँदै छ ।

इटाली समूह बी मा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । इटालीले समूह चरणमा खेलेका ३ खेलमा एक जित, एक बराबरी र एक हार बेहोरेको थियो ।

इटालीले पहिलो खेलमा अल्बानियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा स्पेनसँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै अन्तिम खेलमा क्रोसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

त्यस्तै स्वीजरल्याण्ड समूह चरणमा समूह ए मा दोस्रो हुँदै नक आउट चरणमा पुगेको हो ।  स्वीजरल्याण्ड समूह चरणमा अपराजित रहेको छ । स्वीजरल्याण्डले पहिलो खेलमा हंगेरीलाई ३-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग १-१ को र तेस्रो खेलमा जर्मनीसँग १-१ गोलको बराबरी खेलेको थियो ।

इटाली र स्वीजरल्याण्डबीच अहिलेसम्म ६० खेल भएका छन् । जसमा इटालीले २९ खेल जितेको छ भने स्वीजरल्याण्डले ७ खेल जितेको छ । त्यस्तै २४ खेल बराबरी भएका छन् ।