पोर्चुगललाई हराएपछि जर्जियाका पूर्व प्रधानमन्त्रीले जर्जियन टिमलाई ८.४ मिलियन पाउण्ड अवार्ड दिने

जर्जियाले युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणको नकआउट चरणमा पुगिसकेको छ । समूह ‘एफ’ मा रहेको जर्जियो एक जित, एक बराबर र एक हारबाट चार अंक बटुल्दै समूहमा तेस्रो भएको थियो ।

 

त्यसपछि जर्जिया समूहगत चरणमा तेस्रो हुने उत्कृष्ट चार टोलीभित्र पर्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको थियो । जर्जिया पहिलो पटक युरोकपको नकआउट चरणमा पुगेको हो । जर्जियाले समूहगत चरणको आफ्नो अन्तिम खेलमा पोर्चुगललाई २–० गोलले हराएको थियो ।

आफ्नो टोली समकालीन विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई हराएपछि जर्जियाका पूर्वप्रधानमन्त्री विडजिना इभानिस्भिलीले राष्ट्रिय फुटबल टोलीलाई व्यक्तिगत तर्फबाट ८४ लाख पाउण्ड पुरस्कार दिने घोषणा गरेका छन् ।

प्रतियोगिताको नकआउट चरणमा पनि जर्जियाले बलियो प्रतिद्वन्द्वी पाएको छ । प्रि–क्वार्टरफाइनलमा जर्जियाले स्पेनको सामना गर्नेछ । जारी युरोकपमा जर्जिया फ्रान्सका पूर्वडिफेन्डर विली सग्नोलको प्रशिक्षकत्वमा रहेको छ ।

सत्तारुढ जर्जियन ड्रिम राजनीतिक पार्टीको स्थापना गरेका विडजिना सन् २०१२ मा जर्जियोको प्रधानमन्त्री बनेका थिए । युरोकपमा जर्जियाले पोर्चुगललाई हराएपछि ६८ वर्षीय विडजिनाले भनेका छन्, ‘यो जित हाम्रा लागि ऐतिहासिक र सपनाको जित हो ।’