स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल

भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका किसान जग्गा भाडामा लिएर पनि खेती गर्न थालेका छन् । त्यसमध्येका एक हुन्, भोजपुर नगरपालिका–८, दुम्सिकामा कमल भुजेल । 

उहाँले दुई रोपनी जग्गामा व्यवसायीक स्ट्रबेरी खेती सुरु गर्नुभएको छ । नुवाकोटको ककनीबाट दुई हजार बिरुवा ल्याई आफूले व्यवसायीकरुपमा खेती सुरु गरेको उहाँले बताउनुभयो । 
    
राम्रो उत्पादन र आम्दानी दिन थालेपछि यस खेतीमा आकर्षित भएका भुजेलले हाल दैनिकजसो १० देखि २५ किलोग्राम (केजी) सम्म स्ट्रबेरीको कारोबार गर्ने गरेको बताउनुभयो । आफ्नो उत्पादनले माग धान्न नसकेपछि उहाँले खेती विस्तार गरी १० हजार बिरुवा थप्ने योजना बनाइरहेको सुनाउनुभयो । “ग्राहकको माग बढ्न थालेको छ । स्थानीयस्तरमै कुनै विषादी प्रयोग नगरी उत्पादन भएकाले पनि ग्राहकको माग बढ्न थालेको हो”, भुजेलले भन्नुभयो,“यसले निकै उत्साहित भएको छु । त्यसैले खेती विस्तार गर्ने योजना बनाइरहेको छु ।”

उहाँको उत्पादन र माग देखेर जिल्लाका अन्य किसान पनि कृषिखेती गर्ने योजनामा छन् । सरकारले उत्पादित स्ट्रबेरीको बजारीकरण र प्याकेजिङका लागि सहुलियतमा यन्त्र खरिद गर्न सहयोग गरेमा यहाँका धेरै किसान यसतर्फ आकर्षित हुने भुजेलले बताउनुभयो । “मेरो उत्पादन देखेर अन्य किसानले पनि दिनहुँ यसको खेती गर्नेबारे राय सुझाव लिइरहनुभएको छ । मैले पनि लगनका साथ लाग्ने हो भनेर राम्रो आम्दानी हुन्छ गर्नुस् भनेर यहाँ आउनेहरुलाई सल्लाह दिने गरेको छु”, उहाँले भन्नुभयो । 

विशेषगरी पर्याप्त घाम लाग्ने जमिनमा उत्पादन हुने स्ट्रबेरीका लागि पहाडी जिल्ला भोजपुर उपयुक्त हुने जानकारहरु बताउँछन् । हाल यहाँ प्रति केजी रु पाँच सयका दरमा स्ट्रबेरी बिक्री हुने गरेको छ ।