स्कुल बससहित ४ गाडी ठोकिँदा ५ विद्यार्थी , एक बस चालक घाइते

हङकङ आइल्यान्डको एक्सप्रेसवेमा शुक्रबार दिउँसो चार वटा सवारी साधन एकापसमा ठोकिँदा प्राथमिक विद्यालयका पाँच विद्यार्थीसहित एक बस चालक घाइते भएका छन्। प्रहरीले बताएअनुसार दिउँसो साढे दुई बजे नर्थ पोइन्टको आइल्यान्ड पूर्वी करिडोरमा दुई वटा स्कुल बस, एउटा निजी कार र एक ट्याक्सी एक आपसमा ठोकिएका हुन्।

दुर्घटनामा एउटा बसका चार विद्यार्थी र बस चालक तथा अर्को बसका १ विद्यार्थी घाइते भएका हुन्। घाइतेहरूलाई चाइवानको पामेला युड नेदरसोल पूर्वी अस्पताल लगिएको थियो।

बसमा सवार अन्य ६ जना विद्यार्थी पनि सामान्य घाइते भएका छन्। उनीहरूको नाकमुखमा चोट लाग्नुका साथै टाउको दुखेको रिपोर्ट गरेका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार सुरुमा दुई बस एक–आपसमा ठोकिए। त्यसपछि एउटाले ट्याक्सी र अर्कोले निजी कारलाई ठक्कर दिएका थिए।