आफ्नै आलोकाँचो शैलीले रास्वपामा एक्लिँदै छन् मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा मुकुल ढकालले देश दौडाहापछि तयार गरेको प्रतिवेदन र त्यसबारे उनले दिएको अभिव्यक्तिले ठूलै तरंग पैदा गरेको छ ।

खासगरी उनले पार्टी दुर्घटनाउन्मुख रहेको र आफूमाथि घृणित राजनीति भएको भनेर गरेको टिप्पणीलाई लिएर अनेक अर्थ र अनुमान लगाइँदै छ । सभापति रवि लामिछानेले वान म्यान आर्मीसरहत चलाएको रास्वपाभित्र कति धेरै असन्तुष्टि र टकराव रहेछ भनेर भनेर पनि विश्लेषण भइरहेको छ ।

तर यही प्रतिवेदन र अभिव्यक्तिका कारण अब ढकाल उक्त पार्टीभित्र रहने अवस्था कम बनेको छ । उनी आफै पार्टीको तल्लो तहमा अलोकप्रिय हुँदै गएपछि आफू जोगिन प्रतिवेदनलाई गलत तरिकाले हल्ला गरेको भनेर संस्थापनले बुझेको छ । 

हुन पनि ढकाल यसअघि रविपछि उक्त पार्टीमा सबैभन्दा शक्तिशाली नेता थिए । रविले पनि उनलाई खुबै विश्वास गरेका थिए । पार्टीका नाममा जे जति निर्णयहरु भए ती सबै रविका नाममा मुकुल ढकालले गरेका थिए । हरेक संरचना र निर्णयमा महामन्त्री हाबी भएको र केही संरचनाहरू बिग्रिँदै गएका, कुनै संरचनाका सम्पूर्ण सदस्यहरूले राजीनामा दिएको कुराले रास्वपाभित्र आगो बलिरहेको थियो । त्यो अवस्थामा आफूलाई जोगाउनको लागि इलामको निर्वाचनको समीक्षा अस्त्रका रुपमा उनले प्रयोग गरेको देखिँदै छ ।

इलामको निर्वाचन समीक्षाका लागि महामन्त्री ढकाल एक्लै दौडाहामा जानु पनि अनौठो पक्ष देखिन्छ । त्यतिखेर केन्द्रीय समितिको बैठक रोकेर सचिवालयको बैठकबाट उनलाई पठाएको थियो । अरुलाई सहभागी गराइएको थिएन । फेरि रास्वपाले हारेको इलाम थियो । देश दौडाहाका नाममा समीक्षा गर्नचाहिँ ढकाल रुकुम रोल्पातिर गइरहेका थिए । बारामा रमेश खरेल हार्दा नदेखेको समीक्षाको आवश्यकता इलाममा हार्दा मात्र देख्नु महामन्त्रीको अर्को अनौठो पक्ष थियो ।

पार्टीको सारा संगठन चलाउने महामन्त्रीका रूपमा ढकाल नै थिए । संगठनहरू बनाउने, बिगार्ने र अस्थिर बनाउने उनी नै थिए । अहिले नतिजा नराम्रो आयो र प्रतिवेदनले खराब अवस्था देखायो भने त्यसको उचित भागिदार उनी स्वयं हुनुपर्ने हो । तर उनले सारा दोष अरुमाथि थोपरेर आफूमाथि घृणित राजनीति भएको भनी बाहिर हल्लाबाजी जुन गरेका छन् यसले उनको अपरिपक्व र आलाकाँचापन देखिँदै छ ।

ढकालको मात्र होइन रास्वपाको अवस्था पनि पार्टी बन्न बाँकी नै छ भन्ने यस घटनाले देखाएको छ । अध्ययन प्रतिवेदन तयार भइसकेको छैन तर दुर्घटना हुन लाग्यो भन्दै हल्ला गर्न थालिन्छ । आफू असुरक्षित भएको हल्ला पिटाइन्छ । प्रतिवेदन लेख्नेले सम्बन्धित निकायमा प्रस्तुत गर्नुअघि नै मिडियामा छर्ने कुरा कति नैतिक र जिम्मेवार कदम हुन्छ ? यत्ति पनि उनले ख्याल गरेको देखिँदैन ।

हिजो सरकारमा जानुपर्छ भनेर हतारहतार निर्णय गराउनै तिनै ढकाल थिए । गठबन्धन बैठकमा पहिला पुग्ने पनि तिनै ढकाल हुन्थे । सांसदका टिकटदेखि मन्त्रीको भागबन्डा लगाउने तिनै ढकाल थिए । निश्चित व्यक्ति समानुपाति सांसद नहुँदासम्म पार्टीको सुची नै निर्वाचन आयोगमा बुझाउन नदिने भनेर झापाबाट मान्छे बोलाएर आन्दोलन गर्न लगाउने पनि तिनै ढकाल थिए । अनि अहिले प्रचण्ड र ओलीसँग मिल्नुहुँदैनथ्यो भनेर पनि तिनैले भन्दै हिँडेका छन् र दोष अरुमाथि थोपरिरहेका छन् ।

त्यसैले आफ्ना असफलता छोप्न र आलोचनाबाट बच्न अनि सहानुभूति प्राप्त गरेर मान्छेहरूलाई अल्मल्याउन विषयान्तर गर्न जुन हल्लाबाजी मुकुल ढकालले गरेका छन्, त्यसले उनको केटाकेटीपन छर्लंग पारेको छ । उनी मात्र होइन, रास्वपा पनि केही व्यक्तिको लडहमा चलाइएको र एउटा पार्टी बन्न नसकेको झुण्ड मात्र रहेछ भन्ने प्रमाणित भएको छ । कम्तीमा लोकतन्त्रमा चुनावी प्रतिस्पर्धा हुन्छ र कयौँ प्रतिस्पर्धीमध्ये एक जनाले जित्छ र बाँकी सबै हार्छन् भन्ने सत्य बुझेको मात्र भए पनि इलामको निर्वाचनलाई लिएर यो हदसम्मको छटपटी देखाउनुपर्दैनथ्यो कि ?