भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक चलचित्र ‘आचार्य’ को प्रदर्शनि बोर्डले रोक्यो

भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक चलचित्र ‘आचार्य’ को प्रदर्शन रोकिएको छ । चलचित्रले सेन्सर प्रक्रिया पूरा नगरेको भन्दै चलचित्र विकास बोर्डले रिलिज रोकेको हो । ‘आचार्य’लाई १३ वर्षपछि गत शुक्रबार अर्थात् असार ७ गतेबाट पुनः प्रदर्शन गरिएको थियो । तर, चलचित्र विकास बोर्डले एक सातामै चलचित्रको रिलिज रोकेको हो । चलचित्रलाई पाँच वर्षपछि पुनः प्रदर्शन गर्दा सेन्सर गर्नुपर्ने प्रावधान भए पनि ‘आचार्य’को सेन्सर नगरिएको भेटिएपछि बोर्डले चलचित्रको प्रदर्शन रोकेको जनाएको छ ।

तालुकवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले ‘आचार्य’को प्रदर्शनको विषयमा बोर्डसँग स्पष्टिकरण सोधेको थियो । यसपछि बोर्डको अनुगमन समितिले अनुगमन गर्दा सेन्सर प्रक्रिया पूरा नगरी चलचित्र चलिरहेको भेटिएपछि प्रदर्शन स्थगित गरिएको जनाइएको छ । बिहीबारदेखि देशभरका हलबाट चलचित्रहटिसकेको छ ।

‘आचार्य’का निर्माता रोशन राईले भने चलचित्रलाई सेन्सर गर्न प्रयास गरेको भए पनि कानुनी प्रावधानले गर्दा सम्भव नभएको बताउनुभयो । पाँच वर्ष कटेको चार महिनाभित्र चलचित्रलाई सेन्सर गर्नुपर्ने प्रावधान रहेकाले ‘आचार्य’ १३ वर्षअगाडि रिलिज भएको र जरिवाना तिरेर पुनः सेन्सर गर्न खोज्दा पनि नमिलेको उहाँको भनाइ छ ।

गायक आचार्यप्रति श्रद्धाञ्जलि स्वरूप ‘आचार्य’लाई पुनः प्रदर्शन गरिएको थियो । प्रशान्त रसाइलीको निर्देशनमा बनेको चलचित्रमा सत्यराज आचार्य, सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायतको अभिनय छ । यो चलचित्र २०६८ साल (सन् २०११)मा पहिलोपटक रिलिज भएको थियो । चलचित्रमा सत्यराजले पिता भक्तराजको भूमिका निभाएउनुभएको छ । चलचित्रलाई देवजंग थापाले पुनः सम्पादन गर्नुभएको हो ।