सरकारले विभिन्न देशमा सिफारिस भएका राजदूतबारे पुनर्विचार गर्ने

सरकारले हालै केही देशमा सिफारिस भएका राजदूतबारे पुनर्विचार गर्ने मनस्थिति बनाएको छ । बालुवाटार निकट स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र प्रचण्डबिच सिफारिसमा केही राजदूतको विषयमा प्रश्न उठेकाले यसबारे अब के गर्ने भन्नेबारे पटक पटक छलफल भइसकेको छ।

छलफलमा आवश्यक परे निर्णयमा पुनर्विचार गरेर जाने भन्नेबारे दुई नेताबिच समझदारी बनेको उच्च स्रोतले जनाएको छ ।  ‘कहीँ कतै कमजोरी गम्भीर प्रकृतिको देखियो भने हामी त्यस्तालाई राजदूत नियुक्तिबाट पछि हटाउँछौँ’, बालुवाटार निकट एक स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यूको भनाइ यही छ, ओली र प्रचण्डका बिच पनि केही राजदूतको विषयमा पुनर्विचार गर्नुपर्ने भयो भने गर्ने भन्ने समझदारी पनि बनेको छ ।’

 

विशेष गरी साउदी अरब र दक्षिण कोरियाको राजदूत सिफारिसमा पुनर्विचार हुनसक्ने बताइएको छ । यसैबिच मध्यपूर्वको देश कतारमा माओवादी केन्द्र निकटबाट राजदूत सिफारिस गर्ने गरी छलफल भइरहेको बताइएको छ । तर, कतारको राजदूतमा रास्वपाले पनि दाबी गरिरहेकाले अन्तिम निर्णय हुन भने बाँकी नै रहेको स्रोतको भनाइ छ । 

अघिल्लो साता सरकारले आठ देशमा नयाँ राजदूत सिफारिस गरेको थियो । तर, सिफारिस भएकामध्ये सुशील प्याकुरेलले दक्षिण कोरियाको राजदूत पद अस्वीकार गर्ने घोषणा गरेका थिए । यस्तै साउदी अरबका लागि सिफारिस भएका व्यक्ति पनि म्यानपावर व्यवसायी रहेको र उनको बारे पनि प्रश्न उठेको छ ।