यु–१९ राष्ट्रिय भलिबल : सुदूरपश्चिम समूह विजेता बन्दै सेमिफाइनलमा

प्रथम सहाना प्रधान स्मृति यु–१९ राष्ट्रिय भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

 लगातार तेस्रो जित निकाल्दै  समूह ‘ए’ को  विजेताको रूपमा सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको हो । समूह चरणको अन्तिम खेलमा आज  सुदूरपश्चिमले बागमती प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।  

 काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा   सम्पन्न  खेलमा सुदूरपश्चिमले २५–२१, २५–१३, २५–१४ ले तीनै सेट आफ्नो पक्षमा पा-यो । लगातार तेस्रो जितसँगै समूह ‘ए’ को सुदूरपश्चिमले तीन खेलमा नौ अङ्क जोडेको छ । पहिलो पराजय ब्यहोरेको बागमती पनि समान खेलबाट ६ अङ्कका साथ उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ ।

अब सेमिफाइनलमा सुदूरपश्चिमले  भोलि गण्डकी र बागमतीले लुम्बिनीको सामना गर्नेछन् । टीम ब्यालेन्स र बलियो रहेकोले उपाधि जित्ने लक्ष्य रहेको  सुदूरपश्चिमका प्रशिक्षक दीपेन्द्र भट्टको दाबी छ । प्रतियोगितामा देशका सबै प्रदेशका टोलीको सहभागिता रहेको छ । प्रथम हुने टोलीले रु तीन लाख नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।