‘विपद् तथा भूकम्पीय पूर्वतयारीमा निजी क्षेत्रको सहयोग जरुरी’

काठमाडौँ, १३ असारः  सरोकारवालाहरुले विपद् तथा भूकम्पीय पूर्वतयारीमा निजी क्षेत्रको सहयोग जरुरी रहेकोमा जोड दिनुभएको छ । 

आज कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित कार्यशाला गोेष्ठीमा निजी क्षेत्रले जस्तोसुकै विपद् प्रतिकार्यमा सरकारलाई आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जरुरी रहेकोमा जोड दिएका हुन् । 

रेडक्रस कर्णाली प्रदेश समिति अध्यक्ष लीलाराम सुवेदीले जस्तोसुकै विपद् या मानवीय समस्याका क्षेत्रमा रेडक्रस स्थापनाकालदेखि आफ्नो कर्ममा दत्तचित्त भएर लागेको बताउनुभयो । उहाँले विपद् व्यवस्थापनमा रेडक्रसले सरकारसँग सहकार्य गर्दै कामकारबाहीलाई जनसेवामा समर्पित गरेको जनाउनुभयो । 

उद्योग वाणिज्य महासङ्घ, कर्णाली प्रदेशका प्रतिनिधि प्रेम भण्डारीले सरकारप्रति निजी क्षेत्र जहिले पनि उदार रहेको तर सरकार निजी क्षेत्रप्रति उदासिन रहेको टिप्पणी गर्नुभयो । विपद् पूर्वतयारी तथा प्रतिकार्यमा निजी क्षेत्र सरकारसँग सहकार्य गरी अगाडि बढ्ने उहाँको प्रतिबद्धता थियो ।

नेपाली सेनाका प्रमुख सेनानी असीम श्रेष्ठले विपद् पूर्वतयारी तथा प्रतिकार्यका साथ खोज तथा उद्धारमा सेना जतिबेलामा पनि तैनाथ अवस्थामा रहेको उल्लेख गर्नुभयो । कर्णाली भूकम्पीय विपद्को उच्च जोखिममा भएकाले मानवीय तथा सम्पत्तिको सुरक्षा गर्न, खोज तथा उद्धारलाई छरितो बनाउन नेपाली सेनाको तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका इञ्जिनियर विशेष शर्माले विपद् जोखिम न्यूनीकरणका लागि सडकको स्तरोन्नति, भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिइएको बताउनुभयो । युएनडिपी सुपरपरियोजनाका प्राविधिक अधिकृत कृष्ण चापागार्इंले कर्णालीमा विपद् र भूकम्पीय जोखिमका अवस्थाबारे प्रस्तुति राख्नुभयो ।

गोष्ठीमा भिरालो जमिन, छरिएका बस्ती, जथाभावी खनिएका सडक र कमसल भौतिक संरचनाका कारण कर्णालीमा ठूलो क्षति हुने अवस्थालाई अध्ययन तथा नक्साङ्कन गरी आउने विपद्बाट बच्न कहिले, कहाँ, कसले, के गर्ने र जिम्मेवारी के हुने भन्नेबारेमा तीन वटा समूह निर्माण गरी समूह कार्यसमेत गरिएको थियो ।