समाजवादी कार्यक्रम महाधिवेशनमा अनुमोदन हुन्छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, १३ असारः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का  सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले  पार्टीले अघि सारेको समाजवादी कार्यक्रम आसन्न महाधिवेशनमा अनुमोदन हुने बताउनुभएको छ ।

पार्टी निकट युवा सङ्घ नेपालद्वारा आज आयोजित कार्यक्रममा उहाँले मुलुकको सङ्कटको सामना गर्ने गरी समाजवादी कार्यक्रम  बनाइएको बताउनुभयो । 

श्रमजीवि युवाहरु पलायन भइरहेको अवस्थामा देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवाहरु एकजुट हुनु जरुरी रहेको बताउँदै नेता खनालले लोकतान्त्रिक, देशभक्त र समाजवादी दृष्टिकोणलाई स्थापित गर्न युवाहरु एकताबद्ध भएर क्रियाशील हुनुपर्ने विचार व्यक्त गर्नुभयो।

समाजवादले मात्र विद्यमान शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समाधान गर्नसक्ने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “हाम्रो देश यतिवेला समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेको छ । समाजवादको यात्रालाई तीव्र र व्यापक पार्नु जरुरी छ ।”

पर्टीका महासचिव घनश्याम भुसालले सम्पूर्ण समस्या, विकार र विकृतिको एकमात्र समधान समाजवाद भएको उल्लेख गर्दै सम्पूर्ण युवा, आम क्रान्तिकारी जनतालाई गोलबद्ध गरी समाजवादको सुन्दर भविष्यतिर आफ्ना प्रचार केन्द्रित गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

सङ्गठन र सङ्घर्षलाई समाजवादी दिशामा अगाडि बढाउनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “यात्रा समृद्धिको र लक्ष्य समाजवादको भन्ने महत्वपूर्ण नारालाई दृढतापूर्वक समातौँ, समाजको प्रधान अन्तर्विरोधलाई प्रतिनिधित्व गर्ने समूहप्रति निशाना केन्द्रीत गरौँ ।”