एसइईको नतिजा आज सार्वजनिक हुने

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक हुने भएको छ।  

आज (एसइई) परीक्षाको नतिजा सार्वजनिक गर्ने विषयमा बैठक बसेर नतिजा सार्वजनिक गरिने परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप नियन्त्रक भक्त गोदारले बताए।

यसअघि बुधवार पनि नतिजा प्रकाशनको विषयमा बोर्डको बैठक बसेको थियो। तर, बुधवार नतिजा प्रकाशन गर्ने तयारी नसकिएकाले आज एसइई परीक्षाको नतिजा सार्वजनिक गरिने गोदारले बताए।

२०८० साल चैत्र १५ देखि  चैत २७ सम्म भएको एसइई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए। बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ। जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ। ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २७ अङ्क ल्याउनुपर्छ। त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्छ। त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ। एनजी ग्रेड आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन्। पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ।