सहकारी ठगी प्रकरणमा गृहमन्त्री रविको बयान लिने हिम्मत गर्ला छानबिन समितिले?

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएपछि संसदीय छानबिन समिति त बन्यो । तर, तीन महिना अवधि पाएको समितिले एक महिना गुजारिसकेको छ। बल्ल सहकारीका कागजात झिकाउने निर्णय गरेको छ । सूर्य थापा नेतृत्वको समितिले गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम प्रवाह भएका सहकारीको कागजात झिकाउने निर्णय गरेको छ। गोर्खा मिडियामा पोखराको सूर्यादय सहकारी र बुटवलको सुप्रिम सहकारीको ऋण प्रवाह भएको थियो। जिबी राई नेतृत्वको गोर्खा मिडियामा हालका गृहमन्त्री रवि लामिछाने पनि साझेदार थिए। गोर्खा मिडियाले चलाएको ग्यालेक्सी फोरकेको एमडी लामिछाने थिए। सहकारीबाट गोर्खा मिडियामा मात्र होइन, रविको नाममा पनि ऋण प्रवाह भएको थियो।

अब समितिले गोर्खा मिडियामा गएको ऋण मात्र हेर्छ वा रविको नाममा गएको ऋणबारे पनि सोधखोज गर्छ हेर्न बाँकी छ।

रविको नाममा गएको ऋणबारे सोधीखोजी गर्न समितिले बयान लिनुपर्ने हुन्छ। तर, समितिले बयान नलिइ छलफल मात्र गर्ने तयारी गरेको छ। यसले छानबिनका लागि पर्याप्त हुने छैन। पोखराको सूर्यदर्शनका बचतकर्ताले रविविरुद्ध प्रहरीमा जाहेरी नै दिएका छन्। 

समितिका सदस्यसमेत रहेका कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले ९ वटा सहकारीको पछिल्लो साधारणसभाको निर्णय, ऋणप्रवाह गरेको कागजपत्र हेर्ने जानकारी दिए। उनका अनुसार सहकारीहरुले कागजपत्रसहित लिखित प्रतिवेदन पठाएपछि मात्र छानबिन र बयानको काम सुरु हुनेछ।

छानबिन समितिको टीओआरले अनुसूची १ र २ मा गरी २९ वटा सहकारीको नाम उल्लेख गरेको थियो। जसअन्तर्गत अनुसूची २ मा रविको नाम जोडिएको आशंका गरिएका ९ वटा सहकारी छन्। ती सहकारीको पछिल्लो साधारण सभासहितको विवरण प्रतिवेदन समितिले मगाएको छ।
 

यीमध्ये केही सहकारी स्थानीय तहमातहत रहेकाले समितिले स्थानीय तहसँग पनि समन्वय गर्नेछ। त्यस्तै, सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी र बुटवलको सुप्रिम सहकारीको स्थलगत अध्ययन गर्न विशेष समितिको टोली जाने योजनामा छ। पोखराको सूर्यदर्शनको रकम अपचलनमा रविको नाम जोडिएको पोखरा महानगरपालिकाको अध्ययनले समेत पुष्टि गरेको छ। 

जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा ७ सदस्यीय सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति गठन भएको थियो।

समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान छन्।