राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

काठमाडौँ,  : कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पाँचौँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।
    
आयोगका सदस्य विपिनराज निरौलाले आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन आज प्रदेश प्रमुख खापुङलाई बुझाउनुभएको होे । आयोगले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम कोशी प्रदेशको प्रतिवेदन बुझाइएको हो ।
    
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले प्राप्त प्रतिवेदनलाई विधि एवं प्रक्रियाअनुसार सम्बन्धित ठाउँमा पेस गर्ने बताउनुभयो । उहाँले आयोगले प्रदेशको वित्त, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त रकमले यस क्षेत्रको समृद्धिमा ठूलो भूमिका खेलेको बताउनुभयो । प्रदेश प्रमुख खापुङले आगामी दिनमा आयोगले वित्त सम्बन्धमा व्यवस्थित गर्न दिएको सुझावलाई प्रदेश र स्थानीय सरकारले लागू गर्दै जानुपर्ने धारणा राख्नुभयो । 

आयोगका सदस्य निरौलाले वित्तीय सङ्घीयताअन्तर्गत राजश्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, आन्तरिक ऋणको सीमा, खर्च जिम्मेवारी पूरा गर्ने र राजस्व असुलीमा सुधार गर्नुपर्ने उपायका सम्बन्धमा सङ्घ, प्रदेश र स्थानीय सरकारलाई सिफारिस गर्ने जिम्मेवारी आयोगले प्राप्त गरेको जानकारी दिनुभयो ।