युरो कप २०२४ : पोर्चुगल जर्जियासँग पराजित

 युरो २०२४ को समूह एफ को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग पराजित भएको छ । जर्जियासँग २-० को हारका बाबजुद पोर्चुगल समूह विजेता भने बन्यो ।

जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा जर्जियाले दुवै हाफमा १-१ गोल गरेको थियो । पोर्चुगलले आफ्नो दोस्रो रोजाइको टोलीलाई अवसर दिएको थियो । प्रशिक्षक रोबर्टो मार्टिनेजले कप्तान क्रिस्टियानो रोनाल्डोलाई पहिलो रोजाइमा उतारेपनि उनले जारी युरोमा गोलको खाता खोल्न सकेनन् ।

खेलको दोस्रो मिनेटमा नेपोलीका विंगर क्विचा क्भारात्क्षेलियाले अग्रता दिलाए । पोर्चुगलका एन्टोनियो सिल्भाले दिएको गलत पासमा बढेको आक्रमणमा जर्जेस मिकाउताद्जेले दिएको अन्तिम पासमा उनले गोल गरे ।दोस्रो हाफको ५७ औं मिनेटमा जर्जियाले पेनाल्टीको अवसर पायो । सिल्भाले नै पेनाल्टी क्षेत्रभित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई मिकाउताद्जेले गोल गरेका थिए । गोल्डेन बुट दौडमा अघि रहेका उनको जारी प्रतियोगितामा यो तेस्रो गोल हो ।

समूहको अर्को खेलमा टर्कीले चेकियालाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । चेकियाले पहिलो हाफमै १० खेलाडीमा सिमित भएपनि कडा चुनौती पेश गरेको थियो । तर इन्ज्युरी समयको पाँचौ मिनेटमा चेन्क तोसुनले विजयी गोल गरे । त्यसअघि कप्तान हाकान चाल्हानोग्लुको गोललाई चेकियाका कप्तान टोमस सुचेकले बराबरी गरेका थिए ।

पोर्चुगल र टर्की समान ६-६ अंकका साथ क्रमश: शीर्ष २ स्थानमा रहे । पहिलो पटक युरोमा छनोट भएको जर्जिया पनि ४ अंकका साथ अन्तिम १६ मा प्रवेश गर्यो । १ अंक जोडेको चेकिया बाहिरिएको छ ।