भाटभटेनीले विद्यार्थीलाइ दियाे महिनाको २० घण्टा कामको सुविधा, पारिश्रमिक साप्ताहिक पाइने

भाटभटेनी सुपर स्टोर्सले आफ्नो स्टोरहरूमा पार्ट टाइम जबको अवधारणा लागु गर्दै दुई हजार युवालाई रोजगारी दिने तयारी गरेको छ। अहिले पनि भाटभटेनीमा छ हजार बढीले रोजगारी पाइरहेका छन्। सरकारले नेपालमा पनि पार्ट टाइम अवधारणा अनुसार रोजगारको निर्माण गर्न प्रयास सुरु गरेपछि भाटभटेनीले यसको प्रारम्भ गर्न लागेको हो।

भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालसँग भेटेर पार्ट टाइम काम गर्न चाहनेहरूका हकमा साप्ताहिक भुक्तानीको सुविधा सहित घण्टाको आधारमा काम गर्ने सुविधा सुरु गर्न लागेको जानकारी दिएका थिए।

पढाइका कारण पूर्ण समय काम गर्न असमर्थ युवा लक्षित गरेर ‘पार्ट टाइम’ रोजगारीको अवधारणा कार्यान्वयनमा ल्याउने र  नयाँ प्रक्रिया अनुरूप घण्टाको आधारमा काम गर्न सक्ने सुविधा र पारिश्रमिक पनि मासिक नभई साप्ताहिक रूपमा भुक्तानी गर्ने नीति बनाउन लागिएको हो।

भाटभटेनीका अनुसार पार्ट टाइम गर्न चाहनेको उमेर २१ वर्ष भन्दा कम उमेर, कुनै कलेजमा अध्ययनरत तोकिएको छ। दिनको चार घण्टा र हप्तामा पाँच दिन काम गर्न सक्नेगरी नयाँ नीति बनाउन लागिएको हो।हप्तामा २० घण्टाको रोजगारी दिने र सोही अनुसार पारिश्रमिक निर्धारणको तयारी भएको कम्पनीले जानकारी दिएको छ। यो अवधारणा कहिलेदेखि कार्यान्वयनमा आउने हो सो मिति भने सार्वजनिक भएको छैन।