इन्दु वर्माकाे कप्तानिमा एसिया कपका खेल्ने लागि नेपाली महिला टोली घोषणा

 श्रीलंकामा आउँदो जुलाईमा हुने एसीसी महिला एसिया कप २०२४ का लागि नेपाली महिला टोली घोषणा भएको छ । श्रीलंकाको दाम्बुल्लामा हुने एसिया कपका लागि १५ सदस्सिय टोली घोषणा भएको हो ।  

बन्द प्रशिक्षणमा रहेका २० मध्य ५ खेलाडीलाई बाहिर भएका छन् ।  बाहिर हुनेमा तीव्र गतिकी बलर अश्मिना कर्माचार्य, विकेटकिपर रुवि पोदार सहित एलिशा खडिया, अप्सरी बेगम र लक्ष्मी साउद रहेका छन् ।   

अलराउण्डर राजमती ऐरी पहिलो पटक राष्ट्रिय टोलीमा परेकी छन् । यस्तै बाँया हाते स्पिनर क्रितिका मरासिनीले टोलीमा पुनरागमन गरेकी छन् । 

नेपाली टोली:

इन्दु वर्मा (कप्तान),रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई, राजमती ऐरी

प्रतियोगिताको उद्दघाटन खेलमा नेपालले युएईसँग भिड्ने तालिका रहेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले मंगलबार सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ मा उद्दघाटन खेलमा नेपाल र युएई भिड्ने छन् ।

यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो । समूह ए मा रहेको नेपालले अब पाकिस्तान विरुद्ध जुलाई २१ मा खेल्नेछ भने भारत विरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।

समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको नेपाल श्रीलंकामा भएको एसिया कपमा स्थान पाउनबाट वञ्चित भएको थियो । प्रिमियर कपमा फाइनल खेलेका दुई टोली युएई र मलेसिया सिधै एसिया कपमा प्रवेश गरेका छन् ।

तर, एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर नेपाललाई प्रतियोगितामा समावेश गरेको छ । यो नेपाली महिला टोलीको एसिया कपमा तेस्रो सहभागिता हुनेछ । नेपालले यसअघि सन् २०१२ र २०१६ मा टि ट्वान्टी एसिया कप खेलेको थियो । यसपटकको एसिया कप पनि टि ट्वान्टी प्रतियोगिता रहनेछ ।