नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने दुई शिक्षकलाई सजाय

काठमाडौं १२ असार, :विशेष अदालतले बुधबार भ्रष्टाचार मुद्दामा दुई जना शिक्षकलाई सजाय सुनाएको छ । नक्कली शैक्षिक प्रमाणपत्र रहेको पुष्टि भएपछि उनीहरुमाथि सजाय निर्धारण भएको हो । 

यसै वर्ष २२ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमकुमार डिसीविरुद्ध मुद्दा दर्ता गरेको थियो । यससम्बधमा अनुसन्धान गर्दा उनले माध्यमिक शिक्षा परिषद्बाट हाइस्कुल उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भेटिएको थियो । 

उनी दाङको कौवाघारीस्थित श्री प्राथमिक विद्यालयमा कार्यरत थिए । स्थायी शिक्षकका रुपमा ०५० असारबाट उनले सेवा सुरु गरेका थिए भने हाल अवकाश पाइसकेका छन् । उनले सेवा प्रवेश गर्दा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार सजाय सुनाइएको हो । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस मुद्दामा फैसला गरेको हो । उनलाई पाँच हजार रुपैयाँ जरिवाना तिराउने तथा २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको छ । 

यसैगरी नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा डिलकुमारी कँडेल पनि दोषी ठहर भएकी छिन् । उनी रुपन्देहीको गैडहवा गाउँपालिकास्थि श्री मुक्तिधाम आधारभूत विद्यालयमा राहत शिक्षकमा रुपमा कार्यरत थिइन् । 

उक्त पदका लागि उनले भारतको उत्तर प्रदेशबाट जारी हाइस्कुल परीक्षा तहको झुठा प्रमाणपत्र बनाएको खुलेको थियो । जसपछि कुँवर, राई र श्रेष्ठकै इजलासबाट सजाय तोकिएको हो । 

गत ७ मंसिरमा उनीमाथि मुद्दा दायर भएको थियो । जसमाथि सुनुवाइ गर्दै विशेषले उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ ।