वन कार्यालय जलेश्वरमा भ्रष्टाचार : ६ जना कसूरदार, १८ ले पाए सफाइ

 काठमाडौं १२ असार, : डिभिजन वन कार्यालय जलेश्वरमा भएको भ्रष्टाचारमा ६ जना दोषी ठहर भएका छन् । तीन महिना अघि दायर मुद्दामा विशेषले कसूर ठहर गर्दै २५ असारमा सजाय निर्धारण पेसी तोकिएको छ । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासबाट यस्तो फैसला भएको हो । यस मुद्दामा लक्ष्मण प्रसाद यादव, रामदरस राउत र शेरबहादुर राउत दोषी ठहर भएका छन् । 

उनीहरु तीनैको रुख कटानको अनुमति प्रदान गर्ने प्रक्रियामा ११ लाख ९६ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेषले जनाएको छ । उक्त मूल्यको वन पैदावार हानीनोक्सानी गर्ने कार्यमा रहेको भूमिका लापरवाहीयुक्त र बदनियतपूर्ण रहेको इजलासको ठहर छ । 

यादव सब–डिभिजन कार्यालय बर्दिबासका तत्कालीन सहायक वन अधिकृत हुन् । रामदरश भने नापी कार्यालय बर्दिबासका तत्कालीन अमिन हुन् । यसैगरी शेरबहादुर भने रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थिए । 

महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. १ स्थित रम्तेलडाँडा सामुदायिक वन क्षेत्रका रुखहरु काटिएका थिए । लीलामणि आचार्य र कृष्णप्रसाद गौतमका संयुक्त नाममा दर्ता कायम रहेको १ बिगहा दुई कठ्ठाभन्दा बढी जग्गा निजी नम्बरी आवादीको जग्गा रहेको भनी गलत सिफारिस तथा प्रतिवेदनका आधारमा रुख कटान गरिएको थियो । 

यसरी नक्कली कागजातका आधारमा सामुदायिक वन क्षेत्रको रुखमा छापा, टाँचा गराइ कटानको इजाजत दिइ वनको रुख काटिएको थियो । व्यक्तिलाई लाभ हुनेगरी विभिन्न जातका ४ सय ६ वटा रुख काटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट देखिएको थियो । 

ती रुखहरु काट्दा सरकारलाई ११ लाख ९६ हजार रुपैयाँ नोक्सान भएको दाबी अभियोगपत्रमा थियो । अख्तियारले गत ४ चैतमा मुद्दा दायर गरेकोमा आधा दर्जनमाथि कसूर कायमको फैसला भएको हो । 

यस घटनामा जग्गाधनीहरु आचार्य र गौतमका साथै रुख कटान गर्ने ठेकेदार सन्दिप नेपाली पनि दोषी पाइएका छन् । उनीहरु तीनै जनाले जानाजान बदनियत राखी सामुदायिक वनका रुखहरु व्यक्तिको नामको जग्गामा रहेको भनी कटान माग गरेका थिए । यसरी कटान माग गर्ने, सिफारिस गर्ने र कटान गर्नेसमेतलाई सजाय निर्धारण हुने भएको छ । 

यसमा अन्य १८ जनाले भने सफाइ पाएका छन् । डिभिजन वन कार्यालयका वन अधिकृत हेमन्त प्रसाद साह, सहायक वन अधिकृत बेचन ठाकुरलगायतले सफाइ पाएका हुन् ।