राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज बुधबार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

बुधबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही देशका बाँकी स्थानमा आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ ।

बागमती र मधेश प्रदेशका २/२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोशी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार राति काठमाण्डु उपत्यकामा पनि वर्षाको सम्भावना ६० प्रतिशत रहेको छ । आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोशी र कर्णाली प्रदेशका केही स्थान साथै मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका १/२ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।