अभिनेत्रीद्वय स्वस्तिमा र साम्राज्ञी कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले यस विषयमा आफ्नो धारणा राखे

अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह विवादमा फसेका छन्।

कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ मा ओसिन सिटौलाले सोधेको प्रश्नमा अनमोल केसी र जसिता गुरुङको निजी जीवनबारे अभिव्यक्ति दिएपछि उनीहरूको चर्को आलोचना भइरहेको छ।

यसैबीच, कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले यस विषयमा आफ्नो धारणा राखेको छ। संघले बुधबार एक विज्ञप्ति निकाल्दै कार्यक्रम प्रस्तोता र सहभागी कलाकारको गैर जिम्मेवारीपूर्ण कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ।

‘उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ। आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मान मर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ। एउटा सार्वजनिक कार्यक्रममार्फत अरुको अपहेलना गर्नु, मान मर्दन गर्नु न्याय संगत ठहर्दैन र हुँदैन पनि,’ विज्ञप्तिमा उल्लेख छ।

संघले आफ्ना सदस्य कलाकारहरूलाई यस्तै अभिव्यक्ति सचेतनाका लागि विभिन्न कार्यक्रम गर्दै आएको समेत उल्लेख गरेको छ।

‘यस भन्दा अघिपनि केही कलाकारहरूले सामाजिक मर्यादा विपरित अनुशासन विपरित आचार संहिता पालन नगरी अभिव्यक्ति दिनु भएकोमा संघको ध्यानाकार्षण भइ सचेत पनि गराएका थियौं। प्रस्तुत सन्दर्भमा पनि सम्बन्धित कलाकारलाई सचेत गराउँदै भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि कृयाकलाप र अभिव्यक्ति नगर्न हुन हामी यही विज्ञप्ति मार्फत अनुरोध गर्दछौँ’ संघले भनेको छ।