स्रोत नखुलेका झन्डै साढे २० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौँमा स्रोत नखुलेका झन्डै साढे २० लाख रुपैयाँसहित भारतीय नागरिकलाई प्रहरी पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार काठमाडौँ–१२, ब्रह्मटोलस्थित प्रतीक इन्टरप्राइजेजमा आर्थिक कारोबार गरिरहेका बेला स्रोत नखुलेको २० लाख ४० हजार रुपैयाँसहित भारतको बिहार राज्य मोतिहारी जिल्ला घर भई हाल काठमाडौँ-१२, ब्रम्हटोल बस्ने ३८ वर्षीय निरञ्जन कुमारलाई नियन्त्रणमा लिइएको हो।    

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट विशेष प्रहरी टोलीले अनुगनम गर्दा उक्त रकमसहित नेपाल सरकारबाट प्रतिबन्धित भर्चुअल रकम (क्रिप्टो करेन्सी) बाइनेन्समार्फत ६ करोड २६ लाख, ६९ हजार ९४७ रुपैयाँसमेत कारोबार गरेको पाइएकाले उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।