नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगमकाे विवाद के हो?

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी र वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीको ‘इगो’ले नेपाल एयरलायन्स घानमा परेको छ।

नियामक र सेवा प्रदायकको नेतृत्वकर्ता दुई ‘अधिकारी’को शीतयुद्धमा निगमको छवि नै धमिलिएको हो। प्राधिकरणले जहाजको नियमित मर्मत तथा सम्भारको लागि इटाली लैजाँदा अनुमति नलिएको आरोपमा अध्यक्षसहित ५ जनालाई कारबाही गरेको छ। जसमा २ जना पाइलट समेत छन्। 

प्राधिकरणले अध्यक्ष अधिकारीसँगै अपरेसन डाइरेक्टर दीपु ज्वारचन, कन्टिन्युइङ एयर वर्दिनेस मेन्टिनेन्स अर्गनाइजेसन म्यानेजर ज्ञानबहादुर कुँवर, क्याप्टेनद्वय रमन घिमिरे र महेश्वरमान डंगोल पनि कारबाहीमा परेका छन्। अर्को सूचना जारी नभएसम्म काममा रोक लगाइएको छ। 

प्राधिकरण र निगमको नेतृत्वकर्ताबीचको विवादले निगमको व्यवसाय खोस्ने, निगमका फटाफट हुने काममा असहयोग हुने गरेको छ। निगमसँगको टसलका कारण प्राधिकरणले त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ खोस्ने निर्णय नै गर्‍यो। प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरण पछि हटेको छ। 

‘प्राधिकरणको अनुमतिविना नै स्वीकृत नभएको गन्तव्य इटाली लगेकाले अर्को सूचना जारी नभएसम्मका लागि कारबाही गरिएको हो’, प्राधिकरणले भनेको छ। निगमका पाइलट धमाधम कारबाहीमा परेकाले यसै पनि पाइलट अभाव रहेको छ। त्यसमा फेरि २ जना ग्राउन्डेड भएका छन्। 

के हो विवाद?
हरेक २ वर्षमा गर्नुपर्ने निगमको एयरबस ३३० विमानहरुको नियमित मर्मत गर्न कम्पनी छनौट गर्नको लागि मिति १३ फेब्रुअरी २०२४ मा ४५ दिनको समयसीमा तोकी राष्ट्रिय अंग्रेजी दैनिक पत्रिका तथा निगमको वेबसाइटमा टेन्डर आह्वानको सूचना प्रकाशित गरिएको थियो।

निगमका अनुसार समयसीमाभित्र एउटा मात्र प्रस्तावक एन्टिटेक एसपीएको टेन्डर प्राप्त भएकोले नियमानुसार फेरि १५  दिनको समयसीमा तोकी ३० मार्च २०२४ मा निगमले राष्ट्रिय अंग्रेजी दैनिक पत्रिका तथा निगमको वेबसाइटमा सूचना प्रकाशित गरेको थियो। 

उक्त थप थपिएको समयसीमामा अर्को मर्मत कम्पनी स्ट्राटेजिक ग्लोबल एभिएसन  एलएलसी र लिगल एयरस्पेस युएसएको टेन्डर प्राप्त भएको थियो। प्राप्त टेन्डरहरुलाई मूल्यांकन उपसमितिले नियमअनुसार जाँच गर्दा दुवै टेन्डर सारभूत रुपले प्रभावग्राही नभएको कारणले कम्पनी छनौट प्रक्रिया र सिफारिस हुनसक्ने अवस्था नभएकोले उक्त टेन्डर प्रक्रिया रद्द गरिएको थियो।

निगमले पुनः १७ मे, २०२४ मा १५ दिनको समयसीमा तोकी पुनः टेन्डर आह्वान गरेको थियो। उक्त प्रतिस्पर्धामा भाग लिन इच्छुक भएको तर समयावधि अभाव भएको कारण देखाई दुईवटा कम्पनीबाट इमेलमार्फत अनुरोध गरिएको आधारमा थप प्रतिस्पर्धा होस् भन्ने हेतुले ३ जून २०२४ मा ०७ दिनको म्याद थप गरिएको थियो तर उक्त कम्पनीहरुबाट थप भएको म्यादभित्र पनि टेन्डर पेस हुन आएन।

मूल्यांकन उपसमितिले प्राप्त टेन्डरहरुको नियमानुसार केही विषयमा एकीन गरेपश्चात् स्वीकृत हुने गरी पेस भई बढी अङ्क प्राप्त गरेको र आर्थिक दृष्टिकोणले सबैभन्दा प्रतिस्पर्धी  इटालीको नापेल्सस्थित  एयरटेक एसपीए मर्मत कम्पनीलाई छनौट गर्न सिफारिससहित १४ जून, २०२४ मा नियमानुसार कार्यकारी अध्यक्षसमक्ष स्वीकृत भएको थियो।

इटालीको कम्पनीले आफूसँग भएको ईएएसएको स्वीकृतिलाई नेपाल नागरिक उडडयन प्राधिकरणको नियमानुसार भेलिडेसन लिनुपर्ने र सोको लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको निगमले जनाएको छ।

त्यसैगरी ९एन एएलवाईको सी चेक मर्मत पनि २६ जून २०२४ भित्र सुरु गर्नुपर्ने र समय निकै कम भएको हुनाले क्यानबाट स्वीकृत गरिएको एयर क्राफ्ट मेनटेनेन्स प्रोग्राममा व्यवस्था भएअनुसार सी चेकलाई २ महिना पछाडि सार्नको लागि निगमले २ि जून २०२४ मा प्राधिकरणलाई अनुरोध पत्र पठाएको थियो।

प्राधिकरणले ११ जून २०२४ मा निगमलाई थप कागजात माग गरेकोमा २२ जून २०२४ सम्म प्राधिकरणबाट स्वीकृति नआइसकेको र एमआरओले दिएको मेनटेनेन्स स्लटको समय व्यतित भई फेरि कहिले स्लट पाउने भन्ने निश्चित नहुने विषम परिस्थिति सृजना हुने भएकोले ईयूको नियमानुसार फेरि फ्लाइट फर मेनटेनेन्स अन्ली भनेर क्यानबाट एमआरओ भेलिडेसन प्राप्त भएपछि मर्मत कार्य सुरु गर्ने गरी चालक दलका ५ जना मात्र लिएर २३ जून २०२४ मा दुबईबाट इटलीको नेपल्सस्थित मर्मत कम्पनीमा स्थानीय समयअनुसार बेलुकी ९ बजे अवतरण गरेको थियो।

कम्पनीको हितमा अहोरात्र खटिई कार्यसम्पादन गर्दागर्दै वस्तुगत यथार्थ नकेलाई निगमको साखमा आँच आउने तथा कर्मचारीको मनोबल गिर्ने गरी आधारहीन ढंगले प्रचार प्रसार भएको दाबी निगमले गरेको छ।