फोर नेसन्स कपको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिमले जोर्डनको सामना गर्ने

 अर्को महिना हुने फोर नेसन्स कपको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिमले जोर्डनको सामना गर्ने भएको छ।

आयोजक लेबनान फुटबल संघले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्दी जोर्डन पाएको हो। यी दुई टोलीबीचको खेल त्रिपोली अन्तर्राष्ट्रिय फुटबल मैदानमा असार २६ गते हुनेछ ।

नेपाल र जोर्डन दोस्रोपटक भिड्न लागेका हुन्। गत फागुनमा सम्पन्न वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले पराजित गरेको थियो।

त्यसअघि दुबै टोलीले २-२ गोलको बराबरी खेलेका थिए। नेपालले दोस्रो खेल बंगलादेशसँग असार २९ गते खेल्ने छ।

सुरुका दुई खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे हुने छ। यस्तै, समूह चरणको अन्तिम खेल साउन १ गते घरेलु टोली लेबनानसँग खेल्नेछ। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।