विराटनगरका ५ सय घरमा पस्याे बाढी

विराटनगरका बस्तीमा खोलाको बाढी पसेको छ। विराटनगरको पूर्वतर्फको संघिया र पश्चिमतर्फको केशलिया खोलाका किनारका बस्तीमा बाढी पसेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत जानकारी दिए।

विराटनगर महानगरपालिका-६ स्थित खोला आसपासका बस्तीमा पस्दा करिब ५ सय घरमा पसेको वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए। बाढीबाट प्रभावित हुने घरधुरीको संख्या बढ्दो छ।

वडा नम्बर १२ को बस्तीमा केसलिया खोलाको बाढी पसेको छ। वडा अध्यक्ष हिरालाल कामतका अनुसार खोला किनारका ६० बढी घर डुबानमा परेका छन्।

मंगलबार रातिदेखि परेको पानी नरोकिएका कारण विराटनगरका विद्यालय बिदा दिइएको छ।

विराटनगर महानगरका प्रवक्ता तथा विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार वर्षाका कारण विराटनगरका थुप्रै स्थान डुबानमा परेका छन्। विराटनगरमा ६० वटा ‘सेल्टर’ तयारी अवस्थामा राखिएको उनले बताए।