के माधव नेपाल एकीकृत समाजवादीबाट पनि एक्लिँदै छन् ?

नेकपा एकीकृत समाजवादीको नेतृत्व चयनका लागि महाधिवेशन हुँदैन छ । यही मध्य असारमा हुन लागेको यो महाधिवेशन उनीहरूको पहिलो ठूलो भेला पनि हुनेछ । करिब १८ सय प्रतिनिधि हुने भनिएको महाधिवेशनमा चार सयभन्दा बढी त केन्द्रबाटै जानेछन्, जो स्थानीयस्तरबाट चुनिनुपर्दैन । अरू केही मनोनीत गरेरिनेछ । तर यति हुँदाहुँदै पनि माधव नेपालको अध्यक्ष बनिरहने चाहनामा भने ठूलो धक्का पुग्ने देखिएको छ । 

अहिलेसम्मको आकलनमा नेतृत्वको लागि तीन नेताले दौडधुप गरिरहेका छन् । वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल अध्यक्ष पदका आकांक्षी हुन् । 

नेताहरूको एउटा समूह सहमति गरेर नेतृत्व छान्ने प्रयासमा छ । सकेसम्म चुनाव नगर्ने भनेर लागिरहेका ती नेताहरुका उम्मेदवार भने फरकफरक नै छन् । असार ९ गते नेपाल र खनालका बीचमा पनि छलफल नभएको होइन । तर, प्रतिवेदन साझा बनाउन तयार भएका उनीहरु नेतृत्व भने एकअर्कालाई छाड्न तयार भएका छैनन् । अर्थात् सिद्धान्त र विचार त्यागेर सम्झौता गर्न दुवै जना तयार हुँदा पनि पदको दाबी छाड्न कोही तयार छैनन् । 

देशभरबाट १८ सय ७० प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउनेछन् । त्यसमा मनोनयन गर्दा एक सय प्रतिनिधि थपिन सक्छन् । काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा असार १६ देखि महाधिवेशन हुँदै छ। बन्द सत्र असार १७ गते हुनेछ ।

नेपालले अध्यक्षमा दोहोरिने र खनालले चुनौती दिने तयारी भइरहँदा महासचिव बनेको १५ महिनामै घनश्याम भुसाल पनि अध्यक्षको प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । उनले पुस्तान्तरणको नारा अघि सार्दै पार्टीभित्रको युवा पंक्तिलाई आफ्नो पक्षमा एकत्रित बनाइरहेका छन् ।

तर एकीकृत समाजवादीमा भुसालको बेग्लै राजनीतिक संयन्त्र वा संगठन छैन । पार्टी विभाजनभन्दा निकै ढिलो मात्र उनी एमालेबाट एकीकृत समाजवादीमा पुगेका हुन् । त्यसैले उनको स्वीकार्यता पनि पार्टीमा कमजोर हुने हो कि भन्ने भय छ । देशभरबाट छानिएका प्रतिनिधि हेर्दा एक्लै चुनाव जित्न नसकिने उनको विश्लेषण छ । त्यही भएर सकेसम्म माधव र झलनाथ दुवैलाई मिलाउने प्रयत्नमा उनी छन् ।   

यदि त्यो प्रयास सफल नभए उनी खनालको साथ लिएर चुनाव लड्ने दाउमा छन् । एमालेभित्रको शक्ति संघर्षमा लामै समय माधवलाई साथ दिएका घनश्यामले अन्तिम समयमा साथ छाडेका थिए र एमालेमै बस्ने निर्णय लिएका थिए । त्यतिखेर नेपाल निकै कमजोर पारी लिएर एकीकृत समाजवादी बनाउन पुगेका थिए । त्यतिखेर पार्टी फुटाउन उकास्ने प्रेम आलेमगरदेखि मेटमणि चौधरी र किसान श्रेष्ठ अहिले एमालेमा जान खुट्टा उचालिरहेका छन् । उनीहरु मन्त्री बन्ने लोभमा र कुनै अदृश्य शक्तिबाट प्रभावित भएर मात्र एमाले विभाजनका लागि तयार भएको आकलन अहिले नेपाल पक्षमा गरिँदै छ । 

तर वैचारिक नेताका रूपमा चिनिएका भुसाल २०७१ मा सम्पन्न एमालेको नवौँ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उपमहासचिव निर्वाचित भएका थिए । ०७७ पुस ५ मा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि एमालेभित्र शक्ति संघर्ष चर्किँदा उनी विरोधमा उत्रिए । माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेता ओलीको कदमको विरोधमा उत्रिए । त्यसबेला भुसालले माधवलाई साथ दिए पनि एकीकृत समाजवादीमा गएनन् । २०७८ मंसिरमा सम्पन्न एमालेको दसौँ महाधिवेशनमा उपाध्यक्ष उठे पनि भुसाल पराजित भए ।  
२०७९ असोज २३ गते भुसालले एमाले परित्याग गरे । २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा रूपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार बने ।

नेपालसहितको कांग्रेस–माओवादी गठबन्धनले समर्थन गर्दा पनि उनले जितेनन् । त्यसको डेढ महिनापछि २०७९ पुस २९ मा उनी एकीकृत समाजवादी प्रवेश गरेका हुन् । त्यसको भोलिपल्टै उनलाई सचिवालय सदस्य भएका उनी २०७९ चैत ५ गतेयता महासचिव छन् ।

अहिलेसम्म झलनाथ र घनश्याम एउटै प्यानलमा रहेको मानिएको छ । अन्तिम समयमा माधव नेपाललाई विस्थापित गर्ने सर्तमा झलनाथ र घनश्याम एक ठाउँमा उभिन सक्ने ठानिएको छ । यी दुई नेता एक ठाउँमा उभिए एकीकृत समाजवादीमा माधव एक्लिनेछन् । त्यो अवस्थामा माधव फेरि अपमान भयो भन्दै त्यही पार्टी फुटाउनतिर लाग्छन् कि एमालेमा फर्किन्छन्, दृश्य हेर्नलायक हुनेछ ।