कोपा अमेरिका २०२४ : चिलीलाई हराउदै अर्जेन्टिना नकआउट चरणमा

 खेलको ८८औँ मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल निर्णायक बन्दा अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा पुगेको छ।

मेटलाइफ स्टेडियम, न्यू जर्सीमा बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई १-० गोलअन्तरले पराजित गरेको हो। जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ। पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलअन्तरले पराजित गरेको थियो।

चिली भने पहिलो खेलमा पेरुसँग गोलरहित बराबरीमा रोकिएको थियो। 

यही समूहमा रहेको क्यानडाले पेरुलाई पनि १–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै पहिलो ३ अंक जोडेको क्यानडा ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएको क्यानडाले दोस्रो खेलमा जित निकालेपछि क्वाटरफाइनलको सम्भावना कायमै  राखेको छ ।

पेरुले क्यानडालाई दबाबमा राखे पनि ५९  औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । पेरुका मिगुएल अराउजोले फल गरेपछि भिडियो एसिस्टेन्ट रेफ्री (भार)को सहायतामा रातो कार्ड देखाइएको थियो । त्यसपछि भने पेरु दबबमा आउँदा त्यसको फाइदा क्यानडाले लिन पुग्यो ।

क्यानडाका जोनाथन डेभिडले ७४ औं मिनेटमा ज्याकब सेफलबर्गको पासमा गोल गरेका थिए । सोही गोल नै क्यानडालाई स्पष्ट ३ अंक दिलाउन पर्याप्त भयो ।