कुमारी बैंकबाट संस्थापक सेयरधनी बाहिरिने क्रम बढ्दाे,, १५ दिनमै झण्डै करोड कित्ता सेयर बिक्रीमा

कुमारी बैंकबाट संस्थापक सेयरधनी बाहिरिने क्रम बढेको छ।

संस्थापक सेयरधनीहरूले लगातार सेयर बिक्रीमा राख्न अपिल गरेपछि बैंकले १५ दिनभित्र झण्डै एक करोड कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। 

पछिल्लो १५ दिनमा बैंकले ८ पटक सेयर लिलामी बिक्रीको प्रक्रिया खोलेको छ। जेठ २८ गतेयता ८५ लाख ४९ हजार ६ सय ८६ कित्ता सेयर लिलामीमा राखिएको छ। 

तीमध्ये २ वटा संस्थापक सेयर सर्वसाधारण लगानीकर्ताका लागि पनि खुल्ला गरिएको छ। बाँकी ६ वटा भने संस्थापक सेयरधनीहरूबाटै खरिदका लागि आवेदन दिन सूचनाबाट आह्वान भएको छ। 

जेठ २८ गते बैंकले एकै दिन दुई पटक ठूलो संख्यामा संस्थापक सेयर बिक्रीमा राखेको थियो। दुईवटा सूचनामध्ये पहिलोमा ४५ लाख ५७ हजार ९१२ कित्ता सेयर लिलामीमा राखेको थियो भने दोस्रोमा १४ लाख ६१ हजार ६०० कित्ता सेयर बिक्रीमा राखेको थियो।

 

दुवै सेयर संस्थापक सेयरधनीले नकिनेपछि बैंकले एकैदिन सर्वसाधारण व्यक्ति तथा कम्पनीका लागि खुला गरेको थियो। बैंकले न्यूनतम दर एक सय रुपैयाँमै बिक्री खोले पनि बिक्री गर्ने सेयरको स्वामित्वकर्ताको नाम भने खुलाएको छैन। 

यसअघि नै बैंकले उक्त सेयर संस्थापक सेयरधनीलाई बेच्न खोजेको थियो। तर संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेपछि बैंकले उक्त सेयर सर्वसाधारण व्यक्ति तथा कम्पनीले खरिद गर्न सक्ने गरी आवेदन माग गरेको थियो। 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ ले संस्थापक सेयर पहिलो पटक सोही बैंकको संस्थापक सेयरधनीहरूमा बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ। सेयरधनीबाट खरिद नभए फेरि ३५ दिने सूचना जारी गरेर बैंकले सर्वसाधारण तथा कम्पनीहरूमा खरिदका लागि आह्वान गर्नसक्ने व्यवस्था छ। 

बैंकका सेयरधनीले खरिद नगरेपछि बैंकले जेठ २८ गते ६० लाख कित्तामाथिकोे सेयर सर्वसाधारणका लागि खुल्ला गरेको थियो।  

सोही दिन बैंकले संस्थापक सेयरधनीहरूका ३ लाख ५४ हजार कित्ता सेयर बिक्रीमा राखेको थियो। तीन जना सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर खरिदका लागि ३५ दिने सूचना जारी गर्दै बैंकले पहिलो पटक सेयर बिक्री खोलेको थियो। यसका लागि पनि सेयरधनीबाट आवेदन नपरे पुनः सर्वसाधारणका लागि बिक्री खोलिने बैंकले जनाएको छ।  

त्यसयता बैंकले क्रमशः जेठ २९ गते ५ लाख ८१ हजार २५१ कित्ता, जेठ ३१ गते रघुनाथ पन्तको स्वामित्वमा रहेको १ लाख ६२ हजार ९६७ कित्ता, २ गते राधेश्याम सुवालको नाममा रहेको २७ हजार ७९८ कित्ता र असार ६ गते वीरेन्द्र साहको नाममा रहेको १३ लाख ८७ हजार २५८ कित्ता सेयर बिक्रीमा राखेको थियो। बैंकले असार ७ गते पनि १६ हजार ६४५ कित्ता संस्थापक सेयर सेयरधनीहरूकै लागि बिक्रीमा राखेको थियो। 

कुमारी क्यापिटलका एक अधिकारी बैंकहरूमा संस्थापक सेयरधनीहरू ‘एक्जिट’ गर्ने (बाहिरिने) तरखरमा लागेको बताउँछन्। 

बैंक र व्यवसायी छुट्याउन ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक’ संसदमा दफाबार छलफलको क्रममा छ। यो विधेयक संसदबाट पारित भएमा संस्थापक सेयरधनीको अधिकार खुम्चिनेछ। 

विधेयकले बैंक तथा वित्तीय संस्थाले आफूसम्बद्ध व्यक्ति वा कुनै बैंकमा उल्लेख्य स्वामित्व भएको व्यक्तिलाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न नपाउने उल्लेख गरेको छ। 

उक्त प्रावधान लागू भएको खण्डमा व्यवसायी सेयरधनीहरूलाई आफूसम्बद्ध बैंकबाट कर्जालगायतका सेवा लिन समस्या पर्नेछ। 

कुमारी क्यापिटलका ती अधिकारी भविष्यमा संस्थापक सेयरधनी भएकै कारण सेवाबाट वञ्चित हुन सकिने त्रासले पनि लगानीकर्ता बैंकबाट बाहिर निस्किन थालेको बताउँछन्। 

‘उद्योगी व्यवसायीहरू बैंकको संस्थापक सेयरधनी छन्। अब संस्थापक सेयरधनीको सेवामा कटौती हुने भएपछि उनीहरू बिक्रीमा लाग्न थालेका हुनसक्छन्’, ती अधिकारीले भने। 

सेयरधनीले पाउने प्रतिफलका आधारमा पनि पछिल्लो समय वाणिज्य बैंकहरू कमजोर हुनुलाई संस्थापक सेयरधनी बाहिरिने अर्को कारण रहेको उनले बताए। 

अधिकांश वाणिज्य बैंक पुँजीकोष दबाबमा पर्नाले सेयरधनीलाई लाभांश वितरण गर्न सक्दैनन्। यसर्थ पनि लगानीकर्ता बैंकको सेयर बेचेर बाहिरिन थालेको उनको भनाइ छ। 

त्यसो त बैंकको सेयर किन्न सेयरधनीहरूमै पनि आकर्षण घट्दै गएपछि बैंकले सर्वसाधारणमा सेयर बिक्री गर्ने कार्यलाई तीव्रता दिएको छ। 

पछिल्लो समय एनआईसी एसिया, सिटिजन्स, प्राइम बैंकलगायतका बैंकले पनि सेयरधनीले खरिद नगरेका सेयरहरू सर्वसाधारणका लागि बिक्री खोल्दै आएका छन्