युरोकप २०२४ : फ्रान्स र पोल्याण्डले अंक बाडे

युरो कप २०२४ को समूह चरणको अन्तिम खेलमा फ्रान्स पोल्याण्डसँग बराबरीमा रोकिएको छ । पोल्याण्ड विरुद्ध १-१ को बराबरी खेलेसँगै फ्रान्सले समूह विजेता बन्ने मौका गुमाएको छ ।

गोलका लागि निकै संघर्ष गर्नु परेको खेलमा फ्रान्सले ५६औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको थियो । उसमान डेम्बेले माथि भएको फाउल पछि पाएको पेनाल्टीमा चोट पछि फर्किएका कप्तान केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

पोल्याण्डले ७९औं मिनेटमा बराबरी गर्यो । रोबर्ट लेवान्डोस्कीले पनि पेनाल्टी मार्फत नै गोल गरेका थिए । उनको पेनाल्टी फ्रेन्च गोलरक्षक माइक माइगननले बचाएपनि उनको खुट्टा पेनाल्टी प्रहार हुनुअघि गोललाईन भन्दा अघि आएका कारण लेवान्डोस्कीले पुनः पेनाल्टी प्रहार गर्न अवसर पाएका थिए ।

फ्रान्सको बराबरी पछि सोही समयमा नेदरल्याण्ड्स माथि ३-२ को जित निकालेको अष्ट्रिया समूह विजेता बन्यो ।३ खेलमा २ जित हासिल गरेको अष्ट्रियाको ६ अंक रह्यो । आफ्नो अन्तिम खेलमा पोल्याण्ड सँग बराबरीमा रोकिएको फ्रान्सको ३ खेलमा ५ अंक रह्यो ।

नेदरल्याण्ड्स भने ४ अंक सहित तेस्रो स्थानमा रह्यो । उत्कृष्ट ४ तेस्रो स्थान हासिल गर्ने टोली बन्दै अन्तिम १६ मा पुग्ने नेदरल्याण्ड्सको सम्भावना बलियो छ । पोल्याण्ड १ अंक सहित समूहको पुछारमा रहँदै बाहिरिएको छ ।