कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना

हाल (मंगलबार बेलुका) देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) छ भने बागमती प्रदेशको थोरै स्थान तथा गण्डकी, कर्णाली र कोसी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज राति कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही देशका बाँकी स्थानमा आंशिकदेखि साधारणतया बदली रहने छ। यस क्रममा राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

साथै कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच राति काठमाडौँ उपत्यकामा पनि पानी पर्ने महाशाखाले जनाएको छ। 

मौसमविद्का अनुसार हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव छ। सोही कारण मौसम बदली र वर्षा भइरहेको हो।