यौनशक्ति बढाउने औषधिको सेवन गरी शारीरिक सम्पर्क राख्दा युवकको मृत्यु भएको आशंका

सिरहामा यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा एक युवकको मृत्यु भएको आशंका गरिएको छ । वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहाको धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको जानकारी दिए । उनी सोमबार स्थानीय धनगढीमाइ होटेल एण्ड लजमा प्रेमिकासहित पुगेका थिए ।  ‘सेक्स पावर’ बढाउने औषधीको सेवनबाट उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । 

मृतक सोमबार बिहान मात्रै मलेसियाबाट घर (सिरहा) फर्केका थिए । त्यसपछि नुहाई धुवाइ गरेर अर्का एक साथीलाई सामान दिनुछ भनी घरबाट निस्केको बताइन्छ । 

प्रहरीले चलाएको सोधपुछमा त्यही बेला मृतक कामत सोमबार बिहान साढे ९ बजे एक महिलासँगै उक्त होटेलमा इन्ट्री गरेको पाइएको छ । जसमा आफू विदेशबाट आएको राहदानी देखाउँदै होटेलमा श्रीमतीसँग बस्ने भनेर होटेल बुक गरेको खुलेको प्रहरी अनुसन्धानले देखाएको छ ।

पण्डितले भने, ‘बिहान साढे ९ बजेदेखि होटेल प्रवेश गरेको देखिएको छ । त्यसपछि करिब अढाइ बजेतिर श्रीमान सुतिरहेको भन्दै काम विशेषले ती महिला बाहिर निस्केको देखिन्छ । उनी बाहिर गइसकेको झन्डै २ घण्टासम्म नफर्केपछि होटलवाला साँझ रुममा गए, जहाँ कामत मृतक अवस्थामा भेटिएका थिए ।’

त्यसपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।  मुचुल्का उठाउन घटनास्थलमा तत्कालै प्रहरीको टोली पुग्यो । त्यसपछि उक्त टोलीले शवको बरामदी मुचुल्का उठाउनुको साथै घटनाको प्रकृति तथा विश्लेषण सुरु गयो । 

यही क्रममा प्रहरीको टोलीले होटेलमा मृतकलाई बान्ता गरेको तथा उत्तानो अवस्थामा मृत अवस्थामा फेला पारेको थियो । प्रहरीका अनुसार जहाँ मृतकले अत्यधिक बान्ता गरेका थिए । 

त्यसपछि प्रहरीको टोलीले त्यही कोठाबाट २ वटा प्रयोग भएको कन्डमसमेत बरामद पारेको छ ।  बरामद भएको ती कन्डम र बान्ताको विश्लेषण गर्दा उनको मृत्यु यौन शक्ति बढाउने औषधी सेवनबाट भएको प्रहरीको निष्कर्ष छ । 

प्रहरीले मृतकसँगै गएकी महिलाको पहिचान भइसकेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।