कोपा अमेरिका २०२४ :  उपाधि दावेदार ब्राजिल र कोस्टारिका बिच बराबरी

 उपाधि दावेदार ब्राजिलले कोपा अमेरिका २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा कोस्टारिकासँग बराबरी खेलेको छ ।

अमेरिकाको लस एन्जेलसस्थित सोफाइ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिदा दुवै टोलीले १-१ अंक हात पारे । ब्राजिलले खेलमा एकपक्षीय आक्रमण गरेपनि आवश्यक गोल भने गर्न सकेन ।ब्राजिलले पहिलो हाफमा मार्किन्हसको प्रयासमा बललाई पोस्टभित्र पठाएपनि रेफ्रीले भीएआरको सहयोग लिँदै गोललाई मान्यता दिएनन् । त्यसपछि ब्राजिलले लगातार आक्रमण बुनेपनि गोल गर्न भने सकेन ।

दोस्रो हाफमा थप आक्रामक देखिएको ब्राजिलले पटक पटक पाराग्वेको डिफेन्सलाई समस्या दियो । लुकास पाक्वेटाको प्रहारमा पोस्ट बाधक बन्दा ब्राजिल अग्रता लिनबाट बन्चित भएको थियो ।त्यसअघि समूह डी कै खेलमा कोलोम्बियाले पाराग्वेलाई हरायो । कोलोम्बियाले पहिलो हाफमै ड्यानीएल मुनोज र जेफर्सन लार्माको गोलमा २-० को अग्रता लिएको थियो । दोस्रो हाफमा जुलिओ एन्सिजोले गोल फर्काएपनि नतिजा बदल्न सकेनन् ।

समूहमा कोलोम्बियाको ३ अंक भएको छ । ब्राजिल र कोस्टारिकाको १-१ अंक तथा पाराग्वे विना अंक पुछारमा छ ।

कोपा अमेरिका अन्तर्गत बुधबार समूह ए मा पेरुले क्यानडा तथा चिलीले अर्जेन्टिनाको सामना गर्नेछ ।