बन्द भयो मेलम्चीको पानी, अब धाप ड्यामबाट पैंचोमा चलाइने

काठमाडौं उपत्यकावासीले अब कम्तीमा ६ महिना मेलम्चीको पानी खान पाउने छैनन्। वर्षाका कारण मेलम्चीमा पानीको सतह बढेपछि सरकारले सोमबारबाट  सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गरिदिएको हो ।

दुई वर्ष अघिको बाढीले मेलम्चीको हेडबक्स ध्वस्त बनाइ दिएपछि मर्मत गरेर हिउँदमा मात्र काठमाडौंमा पानी ल्याइन्छ, हरेक वर्ष बर्खामा बन्द गरिन्छ। यसपटक पनि बर्खा लागेसँगै सोही नियति दोहोरिएको हो। मेलम्ची नदीको बहाब बढेर बाढी आइ पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए।

मेलम्चीको पानी अब हरेक वर्ष यही नियति भोग्ने छ।  परामर्शदाता तथा एसियाली विकास बैंक (एडिबी) ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिएका छन्।हेडवक्र्समा क्षति हुनसक्ने भय छ।

त्यही भएर सरकारले हेडबक्स सार्ने योजना अघि सारेको छ। तर, हेडबक्स सार्न पनि सरकारसँग पैसा छैन। 

एशियाली विकास बैंकले हेडबक्स सार्न २ अर्ब अनुदान दिएको छ। बाढीसँगै बगेर आएका गेग्रान र ढुंगाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरिदिएपछि झन्डै १ हजार मिटर माथि हेडबक्स बनाउने तयारी भइरहेको बेला एडिबीेले २ अर्ब अनुदान उपलब्ध गराएको हो।

२ वर्ष अघिदेखि नै एडिबीले हेडबक्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भएपनि मन्त्रीपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो। सरकारले सहमति जनाएसंगै आयोजनाले हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ। आयोजनाले ४ वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ । यसको लागि झन्डै साढे ३ अर्ब लागत लाग्ने अनुमान आयोजनाको छ।

काठमाडौंको तिर्खा मेटाउने भनिएको मेलम्ची नै आफै जोखिममा परेपछि सरकार थप समस्यामा छ। काठमाडौंमा पानी खुवाउन धौधौ छ।
अब काठमाडौं उपत्यकामा खानेपानी अभाव पुनः दोहोरिने छ। 

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले शिवपुरी धाप ड्यामबाट दैनिक ४ करोड लिटर पानी काठमाडौंमा ल्याइने योजना अघि सारेको छ। तर, यो योजना प्रभावकारी छैन। किनकी  ड्याामबाट दैनिक ४ करोड लिटर ल्याउन सम्भव छैन। बर्खामा हरेक दिन एकनास पानी पर्दैन। बेलाबेला खडेरी हुनसक्छ, यो अवस्थामा ड्यामको पानी बागमतीमा बगाउनुपर्ने हुन्छ, जुन अपुग हुँदै आएको छ। बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाले भने दैनिक धाप ड्यामबाट वाटर ट्रेडिङ मार्फत सुन्दरीजल हुँदै सिस्टममा पठाउने दाबी गरे। मेलम्ची आएपछि धापलाई उक्त पानी पैंचो तिर्ने भनिएको छ।