फेसबुक र इन्स्टाग्राममा राखिने रिल बनाउनका लागि मान्छेले हैरानी दिन थालेपछि एक वृद्धले गरेआत्महत्या

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा राखिने रिल (भिडिओ) बनाउनका लागि मान्छेले हैरानी दिन थालेपछि एक वृद्धले आत्महत्या गरेका छन् । भङ्गार बाबाका नामले परिचित प्रताबसिंह नामका ती वृद्ध आइतबार बेलुका भारत, राजस्थानको फलोडी जिल्लामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

स्थानीय सञ्चार माध्यमका अनुसार ती वृद्ध फोहोर, विशेषगरी बोटल तथा कबाड सङ्कलन गर्ने र त्यसलाई बिक्री गर्ने काम गर्दै आइरहेका थिए । उनी ठेला लिएर गाउँ गाउँमा डल्थे अनि ‘भङ्गार लेवणो है थारे’ (फोहोर छ भने दिनुस्) भन्थे । फोहोर लिएपछि त्यसलाई ठेल्दै बिक्री गर्नुपर्ने ठाउँमा लैजान्थे । त्यही क्रममा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको भिडिओ खिचेर सामाजिक सञ्जालमा राख्न थाले । 

त्यस्ता भिडिओमा लाखौं भ्युज आउन थाल्यो । त्यही भ्युज देखेर भिडिओ हेर्नेहरूले ती वृद्ध देख्नासाथ भिडिओ बनाउन थाले । त्यति मात्र नभई आफूले चाहेको जस्तो मिम पाउन ती वृद्धलाई हैरान बनाउन थाले । उनलाई भेट्ने जतिले त्यहींको स्थानीय लबजमा “फोहोर किन्छौ तिमी ?” भनेर सोध्थे । र, भिडिओ खिच्न उनको पछिपछि लाग्थे । 

जति धेरै भिडिओ बन्न थाले, उनी त्यति नै चर्चित बन्दै गए । जति चर्चित भए, त्यति नै मानिसहरूबाट दुःख र हैरानी खेप्न थाले । त्यसरी हैरान पार्न थालेपछि उनी झुन्डिएको स्थानीय प्रहरीले जनाएको छ । 

उनको शव पोस्टमार्टमका लागि प्रहरी कार्यालय लगिएको छ भने यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनका भिडिओ विगत दुई महिनादेखि भाइरल भइरहेका थिए ।