भारतको कालाबुर्गी विमानस्थलमा बमको धम्की

भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकको एउटा विमानस्थलमा सोमबार बमको धम्कीको इमेल प्राप्त भएको छ । यसले अधिकारीहरूलाई खोजी अभियान सुरु गर्न प्रेरित गरेको छ ।

प्रहरीका अनुसार बम पत्ता लगाउने तथा डिस्पोजल टोलीसहित स्निफर कुकुरलाई विमानस्थल परिसरमा लगिएको थियो । तर अन्तिम रिपोर्ट नआएसम्म जारी रहेको खोजीका क्रममा शङ्कास्पद केही पनि फेला परेको छैन ।कालाबुर्गी विमानस्थल कर्नाटकको राजधानी बेङ्गलुरुबाट लगभग छ सय १७ किमी उत्तरमा छ ।

एक वरिष्ठ प्रहरी अधिकारीले सञ्चारमाध्यमलाई भन्नुभयो, “विमानस्थल निर्देशकलाई एक अज्ञात प्रेषकबाट एउटा इमेल प्राप्त भयो, जसमा विमानस्थल परिसरभित्र बम राखिएको दाबी गरिएको थियो । उहाँले मेल प्रेषकले शक्तिशाली बम प्रयोग गरेर पूरै विमानस्थल विस्फोट गर्ने धम्की दिएको बताउनुभयो ।”

गत हप्ता भारतका ४१ विमानस्थल र मुम्बई सहरका ५० भन्दा बढी अस्पतालले बम भएको चेतावनी इमेल प्राप्त गरेका थिए । तर पछि ती सबै होक्स (फेक) कल भएको पाइएको छ ।विमानस्थलहरूमा बढ्दो होक्स बम धम्कीको पृष्ठभूमिमा भारतको नागरिक उड्डयन सुरक्षा निकाय ब्युरो अफ सिभिल एभिएसन सेक्युरिटीले यस्ता धम्की दिनेहरूलाई पाँच वर्षको उडान प्रतिबन्धको प्रस्ताव गरेको छ ।

विगत दुई महिनामा राष्ट्रिय राजधानी क्षेत्र दिल्लीलगायत देशभरका विद्यालय, विमानस्थल र अस्पतालहरूमा होक्स (फेक) बम धम्कीहरूको शृङ्खला पठाइएको छ ।