नेतान्याहुले भने- 'हमाससँगको युद्धको महत्त्वपूर्ण चरण पूरा, अब हिजबुल्लाहसँग सामना गर्न तयार छाैँ'

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमाससँगको युद्धमा ‘महत्त्वपूर्ण कोसेढुंगा’ पुगेको बताएका छन् ।

नेतान्याहुले इजरायली सेनालाई लेबनानसँगको उत्तरी सिमानामा हिजबुल्लाहको सामना गर्न जाने अनुमति दिएका छन्। गत वर्ष अक्टोबर पछि इजरायली मिडियासँगको आफ्नो पहिलो अन्तर्वार्तामा नेतान्याहुले गाजाको रफाह सहरमा भएको ग्राउण्ड अपरेशन छिट्टै सम्पन्न हुने अपेक्षा गरिएको बताए ।यद्यपि, उनले भने, "यसको अर्थ युद्ध सकियो भन्ने होइन। हमासको विनाश नभएसम्म हाम्रो लडाइ जारी रहनेछ।" हिजबुल्लाहको सामना गर्ने प्रश्नमा नेतान्याहुले भने, "हामी धेरै मोर्चाहरूमा लड्न सक्छौं र हामी यसको लागि पूर्ण रूपमा तयार छौं।"

अक्टोबर ७ देखि, हमासको समर्थनमा हिजबुल्लाहले उत्तरी इजरायलमा बारम्बार रकेट, मिसाइल र ड्रोन प्रहार गरेको छ। हमास लडाकुहरू इजरायली सीमामा प्रवेश गरे र अक्टोबर 7 मा आक्रमण गरे। यस हमलामा १२ सय जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणमा ३७ हजार ५९० प्यालेस्टाइनीको मृत्यु भएको छ ।