‘गणतन्त्रको उपलब्धि तस्बिरमा नियाल्न पाइयो’

काठमाडौँ, १० असार : कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको छ । तस्बिर प्रदर्शनीको अवलोकनपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले नेपालको गणतन्त्रको उपलब्धि एकमुष्ट रुपमा तस्बिरमा नियाल्न पाइएको बताउनुभयो ।    

पूर्वमुख्यमन्त्री शाहीले नेपालमा गणतन्त्र आएपछि उल्लेख्य कामहरु भएका बताउनुभयो । “राम्रा कामभन्दा नराम्राको चर्चा बढी हुन्छ । त्यो मानवीय स्वभाव हो”, उहाँले भन्नुभयो, “देशभरि भएका राष्ट्रिय गौरवका आयोजनाका काम र प्रगति के कति  भइरहका छन भन्ने वास्वविकता यस तस्बिर प्रद्रर्शनीले देखाएको छ । यो सकारात्मक सन्देश हो ।” 

प्रदर्शनीमा राखिएकामध्ये कर्णालीको विकासबारे राखिएका तस्बिर पूर्वमुख्यमन्त्री शाहीले निकै चासोका साथ हेर्नुभएको थियो । मुलुकमा गणतन्त्र आएपछि कर्णालीमा धेरै विकास भएको उहााँको भनाइ थियो । पछिल्लो सकय हुम्ला सदरमुकाम सिमकोटमा सडक पुगेको उल्लेख गर्दै पूर्वमुख्यमन्त्री शाहीले कर्णाली क्षेत्रलाई चिनाउन रङ्गशाला बन्न लागेको जानकारी दिनुभयो ।   

“हिजोको कर्णाली र गणतन्त्रपछिको कर्णाली कस्तो छ ? राससको तस्बिर प्रदर्शनीबाट स्पष्ट छ”, पूर्वमुख्यमन्त्री शाहीले भन्नुभयो । उहाँ रासस केन्द्रीय कार्यालय भद्रकाली आउनुहुँदा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनीमा राखिएका तस्बिरबारे जानकारी गराउनुभएको थियो ।