टी-२० विश्वकप : लगातार सातौँ जित निकालेर विश्वकपको सेमिफाइनलमा दक्षिण अप्रिका

दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ को सुपर–८ खेलमा वेष्टइन्डिजलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। डकवर्थ लेविस पद्धतिको आधारमा वेस्ट इन्डिजलाई ३ विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो।

दक्षिण अफ्रिका सुपर–८ को ग्रुप बीबाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। जारी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार सातौँ जित हो।

१२३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो। १३६ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका २ ओभरमा १५–२ को अवस्थामा वर्षाको कारण खेल रोकिएपछि ओभर घटाएर खेल गराइएो थियो।

दक्षिण अफ्रिका जितमा युवा ब्याटर ट्रिस्टन स्टब्सले २७ बलमा ४ चौकासहित सर्वाधिक २९ रन बनाए। ओपनर क्विन्टन डि कक १२, रिजा हेन्ड्रिक्स शून्य, एडेन माक्ररम १८ र डेविड मिलर ४ रनमा बोल्ड आउट भए । मार्को यानसन १४ बलमा १ चौका र १ छक्कासहित २१ र कागिसो रबाडा ५ रनमा नट आउट रहे ।

वेस्ट इन्डिजका रोस्टन चेशले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। आन्द्रे रसेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए।त्यसअघि सर भिभियन रिचर्ड्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो।

ग्रुप-२ बाट दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ। इंग्ल्यान्ड ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रह्यो।सेमिफाइनलमा दक्षिण अफ्रिकाले ग्रुप-१ को उपविजेता र इंग्ल्यान्डले विजेतासँग खेल्नेछ। ग्रुप १ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ।

दक्षिण अफ्रिका टी-२० विश्वकप इतिहासमा तेस्रो पटक सेमिफाइनलमा पुगेको हो। यसअघि टी-२० विश्वकपमा दक्षिण अफ्रिका सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको थियो।