टी–२० विश्वकप : वेस्ट इन्डिजले दक्षिण अफ्रिकासामु जितका लागि १ सय ३६ रनको लक्ष्य प्रस्तुत

आयोजक वेस्ट इन्डिजले दक्षिण अफ्रिकासामु जितका लागि १ सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको हो 

वेस्ट इन्डिजका लागि रोस्ट चेसले अर्धशतकीय इनिङ्स खेले । उनले ४२ बलमा ५२ रन जोडे । यस क्रममा उनले ३ चौका र २ छक्का प्रहार गरे ।

वेस्ट इन्डिजको सुरुवात भने राम्रो हुन सकेन । दोस्रो ओभरमा मात्र ५ रन बनाउँदा टोलीले २ विकेट गुमाइसकेको थियो ।

त्यसपछि चेसले ओपनर कायल मायर्ससँग मिलेर इनिङ्स सम्हालेका थिए । मायर्सले ३४ बलमा ३५ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । रनआउट हुनअघि आन्द्रे रसलले ९ बलमा १५ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका लागि ताब्रियाज साम्सीले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै मात्र २७ रन खर्चिए ।कागिसो रबाडा, मार्को यानसेन, ऐडन मार्क्रम र केशव महाराजले १–१ विकेट लिए ।

टी–२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउने होडमा वेस्ट इन्डिज र दक्षिण अफ्रिका छन् । समूह २ बाट यसअघि नै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ । आजको खेलले समूहबाट दोस्रो टोलीको टुङ्गो लाग्नेछ ।