रसुवामा वडा अध्यक्षकाे हस्ताक्षर किर्ते गरेको आरोपमा वडा सचिव पक्राउ

रसुवाको गोसाईकुण्ड नगरपालिका वडा नम्बर–२ स्थित वडा कार्यालयका सचिवलाई प्रहरीले पक्राउ गरेको छ । हस्ताक्षर किर्ते गरेको आरोपमा वडा सचिव ४७ वर्षीय वाङ्दी तामाङलाई पक्राउ गरिएको रसुवाका डीएसपी केशव भट्टराईले बताए । 

वडा सचिवले वडा अध्यक्ष ५३ वर्षीय कामी छिरिङ तामाङको हस्ताक्षर किर्ते गरेको आरोप छ । वडा अध्यक्षको अनुपस्थितिमा उनको मन्जुरी बेगर आफ्नो नाममा टिमुरेमा रहेको जग्गाको घरबाटो सिफारिसमा उनी आफैँले अध्यक्षको हस्ताक्षर गरेका हुन् । 

उनीविरुद्ध किर्ते मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी भट्टराईले जानकारी दिए ।