सीआईबीको प्रहरी भन्दै कपनमा करिब १० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता

सीआईबीको प्रहरी भन्दै कपनमा करिब १० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ४८ वर्षीय भाग्यराम पाइन, बाह्रबिसे–३ कै २६ वर्षीय लिलाबहादुर तामाङ, बाह्रबिसे–३ कै २५ वर्षीय च्याङ्बा र हर्के भनिने लोकबहादुर पाख्रिन र बाह्रबिसे–४ का २५ वर्षीय इनकुमार पाख्रिनविरुद्ध मुद्दा चलाइएको हो ।

यसअघि १७ जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भाग्यरामलाई पक्राउ गरेको थियो । बाँकी ३ जना अझैसम्म फरार रहेकाले उनीहरुलाई फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको हो । चारैजनालाई डाँका चोरीको कसुरमा मुद्दा दायर गरिएको छ ।

पक्राउ परेका पाइन यसअघि २९ मंसिर २०७० मा ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ परी ४ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । फरार रहेका अर्का प्रतिवादी लोकबहादुर पनि चोरी मुद्दामा यसअघि दोषी ठहर भएका व्यक्ति रहेको खुलेको छ । २६ असार २०८० मा ललितपुर जिल्ला अदालतले उनीविरुद्ध १ वर्ष ४ महिना कैद र २० हजार जरिवानाको फैसला सुनाएको थियो ।