विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

उदयपुर, बेलका नगरपालिका–५ घुम्नेस्थित सडकमा सुपाडेबाट चतारातर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–५ लालिगुराँस टोल बस्ने ८० वर्षीया मायासरी राईको आइतबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङ्जा, वालिङ नगरपालिका–८ मिर्दीस्थित सडकमा बुटवलबाट पोखरा तर्फ जाँदै गरेको ग.१ ख ६२३७ नम्बरको बसको ठक्करबाट विरूवा गाउँपालिका–६ चिन्नेबास बस्ने ८२ वर्षीय दुर्गा बहादुर थापाको आइतबार दिउँसो मृत्यु भएको छ ।

उक्त बसबाट झरी बाटो काट्ने क्रममा सोही बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।