डोल्पामा सडक निर्माणमा अनियमितता : इञ्जिनियर र सबइञ्जिनियरलाई कैद तथा जरिवाना

डोल्पाको मुड्केचुला गाउँपालिकामा सडक निर्माणमा अनियमितता भएको विषयमा विशेष अदालतले आंशिक ठहरको फैसला गरेको छ । आइतबार विशेषले पाँच महिनाअघिको मुद्दामा यस्तो फैसला गरेको हो । 

गाउँपालिकाको वडा नं. ८ स्थित घुम्चो खोलादेखि सडक निर्माणमा इञ्जिनियर देवराज रावत र सबइञ्जिनियर दिपनारायण यादवसमेतले मिलेमतोमा भ्रष्टाचार गरेको ठहर भएको हो । यस मुद्दामा उपभोक्ता समिति अध्यक्ष मानबहादुर रोकाया पनि दोषी पाइएका छन् । 

विशेषका सदस्यहरु खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले यस्तो आदेश गरेको हो । उक्त इजलासले गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, वडा नं. ८ का कार्यवाहक अध्यक्ष धनबहादुर रोकाया, कार्यपालिका सदस्य रामकुमार नेपाली, वडा प्राविधिक इशारा बुढा र उपभोक्ता समितिका कोषाध्यक्ष निर्मला रोकायालाई भने सफाइ दिएको छ । 

यस मुद्दामा गत ११ माघमा आठ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएकोमा तीन जना दोषी पाइएका हुन् । विशेषका अनुसार इञ्जिनियर रावत र सब इञ्जिनियर यादवलाई जनही तीन–तीन महिना कैद सजाय भएको छ । 

उनीहरु दुवैले ३ लाख ६५ हजार रुपैयाँभन्दा बढी जरिवानासमेत तिर्नुपर्नेछ । उपभोक्ता समिति अध्यक्ष रोकायाबाट भने विशेषले १० लाख ९७ हजार रुपैयाँ भराउन आदेश गरेको छ । 

सडक निर्माणका क्रममा १० लाख ९७ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित मुद्दा परेकोमा विशेषले ठहरको फैसला गरेको हो । उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भएअनुसारको काम नभएको तर भुक्तानी भने पूरा भएको भेटिएको थियो ।