गैरकानूनी सम्पत्ति अभियोगमा मालपोत अधिकृत भट्टराई र उनकी कान्छी श्रीमतीलाई सफाइ

भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन अधिकृत मिनबहादुर भट्टराईले गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा सफाइ पाएका छन् । यससँगै यसै मुद्दामा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकी उनकी श्रीमती झुना कुमारी कठेतले पनि सफाइ पाएकी हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १६ माघमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो । भट्टराई पछिल्लो पटक मधेश प्रदेशको उद्योग, पर्यटन तथा वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए ।  उनी ०५४ साउनदेखि सार्वजनिक सेवामा प्रवेश गरेका हुन् । उनको ०७९ जेठसम्मको आय–व्यय गणणा गरिएकोमा चार करोड ४० लाख रुपैयाँको अवैध रुपमा आर्जन गरेको दाबीसहित मुद्दा दायर भएको थियो । 

यसैमाथि सुनुवाइ गर्दै विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सफाइ दिने फैसला गरेको हो । उनले बिगोबराबरको सम्पत्ति कान्छी श्रीमती कठायतका नाममा राखेको अभियोगपत्रमा उल्ले भएकोमा कसूर पुष्टि नभएपछि उनले समेत सफाइ पाएकी हुन् ।