सेयर बजारमा लगातार गिरावट, नेप्से आइतबार ५.३७ अं‌कले घटेर २०६२.९४ बिन्दुमा

गएको साता ४३.९७ अंकले घटेको सेयर बजारमा यो साताको पहिलो कारोबार पनि ओरालोतिर नै देखिएको छ।

आइतबार ५.३७ अं‌कले घटेर बजार २०६२.९४ बिन्दुमा झरेको छ। ७८ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ। १६४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। गएको साता आइतबार १७.०४ अंकले घटेको बजार सोमबार बन्द रहेको थियो। मंगलबार पुन: १८.७६ अंकले घटेको बजार बुधबार भने थामिएको थियो। बुधबार २.२७ अंकले बढेको बजार बिहीबार १०.४४ अंकले घटेको थियो। 

कमजोर भइरहेको बजार वृद्धितर्फ जाने अपेक्षाविपरीत निरन्तर ओरालोतिर नै छ। सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै सेयर बजारमा ओरालो गति नै बढी देखिएको हो। २०७८ भदौ २ नेप्से परिसूचक हालसम्मकै उच्च ३१९९ बिन्दुमा पुगेको थियो। तर त्यसयता उतारचढावबीच घटिरहेको बजार सम्हालिन सकेको थिएन। केही दिन वृद्धितर्फ देखिए पनि स्थायी सुधारका आधारहरू भेटिएका छैनन्। 

उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार बलियो सुधारतर्फ जान सकेको छैन। संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।

विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा बजार धरमर भइरहेको हो। लामो समयदेखि बजार उतारचढावबीच २००० देखि २१०० बिन्दुकै आसपासमा छ। आउने साता पनि बजारमा ठूलो फेरबदल हुने देखिँदैन। 

विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिएको बजारमा केही संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा भए पनि बजारले गति लिन सकेको छैन।