नेताहरु जनताका सेवक बन्नुपर्नेमा मालिक बनेः अध्यक्ष साह

काठमाडौँ ९ असारः आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालका पार्टी र नेताहरु मोटाए पनि जनता दुब्लाउँदै गएका बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामा आज सोही पार्टीको तामाङसालिङ–नेवाः प्रदेशले आयोजना गरेको कार्यक्रममा उहाँले राजनीतिक पार्टीका नेताहरु जनताका सेवक बन्नुपर्नेमा मालिक बनेको आरोप लगाउनुभयो ।

पञ्चायत हुँदै बहुदल र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जनताको जीवनस्तर उकास्ने भनेर नारा लगाए पनि व्यवहारमा लागू नभएको बताउनुभयो । “जनतालाई अधिकारसम्पन्न बनाउँछौँ भनेर सबै दल र नेताले भन्दै आएका छन् तर ती कागज र नारामा मौत्र सीमित भएका छन् । जनताको अवस्थामा आमूल परिवर्तन गर्न सकिएको छैन”, उहाँले भन्नुभयो,“अहिलेका जनप्रतिनिधि पनि पार्टीका कारिन्दामात्रै बनेको छन् । पार्टीको हैकम चल्ने व्यवस्थालाई लोकतन्त्र कसरी भन्ने ? त्यसैले हाम्रो पार्टीले त्यस्ता प्रवृत्तिविरुद्ध विभिन्न अभियान गरिरहेको छ ।”

अध्यक्ष साहले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन र लोकतन्त्र ल्याउन लडाइँ लडिएकामा अहिले सीमित नेताको वरिपरिमात्रै मुलुक चल्ने अवस्थाले समस्या समाधान गर्न नसकिएको जिकिर गर्नुभयो । 

पार्टीका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र तामाङले तामाङसालिङ–नेवाः प्रदेशले बनेपामा लघुवित्त एवं बैंकले लिएको मनोमानी ब्याज फिर्ता तथा सहकारी ठगीविरुद्धमा खबरदारी गरिएको बताउनुभयो 

यसअघि बनेपाको पुलबजारबाट तरकारी बजारसम्म आयोजना गरेको ‘लघुवित्त एवं बैंकले लिएको मनोमानी ब्याज फिर्ता तथा सहकारी ठगीविरुद्धमा खबरदारी र्याली’ मा काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीका गरी पाँच जिल्लाका पार्टी नेता, कार्यकर्ताको सहभागिता थियो ।