टी२० विश्वकप : सुपर आठमा भारतकाे बंगलादेशमाथि ५० रनकाे जित

आइसिसी टी२० विश्वकपअन्तर्गत सुपर आठमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ।

शनिबार सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो। यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो।भारतले दिएको १९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४६ रन मात्रै बनाउन सक्यो। बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४० रन बनाए। उनले एक चौका र तीन छक्का प्रहार गरे। तन्जिद हसन २९, रिशाद हुसेन २४, लिटनकुमार दास १३, महमुदउल्लाह १३ र शाकिब अल हसन ११ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

भारतका कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए। अर्शदीप सिंह र जसप्रीत बुमराहले समान दुई विकेट लिँदा हार्दिक पाण्ड्याको नाममा एक विकेट रह्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएकाे थियाे। भारतका लागि ब्याटिङतर्फ हार्दिक पाण्डेयले अर्धशतकिय पारी खेले। उनले २७ बलमा ५० रन पूरा गरे।विराट कोहलीले ३७ रनको योग्दान दिए। कप्तान रोहित २३, ऋषभ पन्त ३६, शिवम दुबे ३४ तथा सुर्यकुमार यादवले छ रन बनाए। अक्षर पटेल ३ रनमा अविजित रहे।  

यता, बलिङतर्फ बंगलादेशको लागि तान्जिन साकिब र रिशाद हुसेनले समान दुई विकेट लिँदा शकिब अल हसनले एक विकेट हात परे।