करण परियार बने नेपाल आइडल सिजन-५ का विजेता

बर्दिया जयनगरका करण परियार बाल्यकाल देखिनै गीत गाउन सिपालु। विद्यालयमा उनको अलग क्रेज। गायन कला सिक्न पाए त सजिलो हुन्थ्यो भन्ने लागे पनि बाध्यताले पाएनन्। अनि लागे काठमाडौँ।

पहिलो तीन महिना बाबुसँगै थिए। तर उनी काठमाडौँ टिक्न सकेनन्। घरतिर लागे। गायन कक्षा लिन साथमा पैसा थिएन। घरले खर्च धान्ने अवस्था थिएन।भोकै बस्नुपर्ने अवस्थामा एक साथीले तीन दिन घरमा लगेर राखे। अनि उनले काम पाए कार्पेट फर्निसिङको सामान डेलिभरी गर्ने।
कपनमा डेरा लिए। जोरपाटीको म्युजिक सेन्टरमा अनुरोध गरेर कक्षा लिन थाले। उनै करण नेपाल आइडल सिजन पाँचको विजेता बने शनिवार।

कार्पेट फर्निसिङको डेलिभरीको काम गर्दागर्दै चप्पलमै उनी आइडलको काठमाडौँ अडिसनमा सहभागी भएर गोल्डेन माइक पाउन सफल भएका थिए।आइडलमा सहभागी हुँदैगर्दा उनले भनेका थिए' यस्तो गायन बन्ने , हरेकको धड्कनमा बस्न सकियोस्।'आइडलको मञ्चमा 'सङ्गी डुब्दैछु तिम्रो यादमा' गाएर गोल्डेन माइक पाएका उनले थिएटर राउन्डमा गोल्डेन माइक पाएका पाँच प्रतिस्पर्धीसँग 'रातो र चन्द्र सूर्य गाए।

पियानो राउन्डमा 'मलाई यो जिन्दगीले चोट दियो गनिगनी' गाए।  गाला राउन्डमा 'के लत लाग्यो मलाई' गाएर निर्णायकहरुलाई छक्क पारेका उनी टप १० मा पुग्दा डेन्जर जोनमा परे पनि प्रतिस्पर्धामा खरो उत्रँदै विजेता बने।मीठो स्वर त भयो नै उनी विजेता बन्नुको कारणमा, उनको सरलपनले पनि निकै साथ दियो उनलाई। लप्पनछप्पन नजानेका उनको सरलपनले पनि उनको फ्यान फलोइङ मजाले बढायो।

निर्णायकमध्ये न्हु बज्राचार्यले त उनका लागि गीत कम्पोज गर्ने वचन दिइसके। इन्दिरा जोशी र कालीप्रसादका पनि उनी प्रिय थिए।प्रतियोगितामा सलोमी गुरुङ फस्ट रनरअप भइन्। सेकेन्ड रनरअप भए सचिन विश्वकर्मा। थर्ड रनरअप भए मोहित भुजेल।